ताप्लेजुङ/ जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गर्न ताप्लेजुङ पुगेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले हरेक तहको निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नहुँदा असहज भएको बताएका छन् ।
निर्वाचन कार्यालय उद्घाटन गर्दै आयुक्त यादवले सरकारले निर्वाचनको मिति घोषणा गरे पछि मात्र आयोगले निर्वाचन क्यालेण्डर बनाउनु पर्ने र प्रकृया अघि बढाउनु पर्ने हुँदा समस्या झेल्नु परेको बताए ।
निर्वाचनको मिति सुनिश्चित गरेर अघि बढ्न सके आयोगलाई मात्रै नभई सरकार, राजनीतिक दल र नागरिकलाई समेत सहज हुन सक्ने यादवको भनाई छ । आयोगसँग ६० दिन भित्रै निर्वाचन सम्पन्न गर्न सक्ने क्षमता रहेको दाबी गर्दै निर्वाचनको मिति तोक्ने अधिकार मन्त्री परिषदलाई नभई आयोगलाई हुनु पर्ने गरी कानुन परिमार्जन गर्न आवश्यक रहेकोमा उनले बताए ।