पानवारी । साउनको पहिलो सोमबार आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थलको रुपमा रहेको धरान स्थित पिण्डेश्वर बाबा धाममा जल चढाउने भक्तजनको अत्याधिक बढेको छ । सोमबार राती १२ बजेदेखि पिण्डेश्वरमा जल चढाउन सुरु भएपछि निरन्तर साझ ७ बजेसम्म करिब १९ घण्टासम्म भक्तजनले पिण्डेश्वरमा जल चढाएका छन् । पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास बनेपालीले भने सधैका वर्षको तुलनामा यस वर्ष दोब्बर भक्तजनले पहिलो सोमबार पिण्डेश्वरमा जल चढाएका छन् । बनेपालीका अनुसार हिन्दु धर्मावलम्बीहरुको अर्काे ठूलो आस्थाको रुपमा रहेको तुलसी रोप्ने दिन अर्थात् हरिशयनी एकादशी र साउनको सोमबार एकैदिन परेकोले जल चढाउने भक्तजनको संख्या बढेको हो । पश्चिम नेपालको महेन्द्रनगर, कञ्चनपुर, दैलेख, बझाङ लगायतका ठाउँबाट समेत भक्तजनहरु पिण्डेश्वरमा जल चढाउन आइपुगेका थिए । कञ्चनपुरदेखि धरानको पिण्डेश्वर आइपुगेका कृष्ण शर्माले भने –‘हामी बस रिजर्व गरेर पिण्डेश्वरमा जल चढाउन आएका हौ ।’ पिण्डेश्वरमा जल चढाउने इच्छा धेरै वर्षअघिदेखिको भएपनि यसवर्ष जुरेको भन्दै उनले सामुहिक रुपमा आउन पाउँदा मनोइच्छा समेत पुरा हुने विश्वास व्यक्त गरे । बेलबारीकी सविता काफ्ले पनि आइतबार दिउँसै साथीहरुसँग चतरा पुगेर जल ल्याइ पिण्डेश्वरमा चढाउन आएको बताउछिन् । उनी वर्षेनी आउने गरेको बताउँदै यसवर्ष ठूलो एकादशी समेत परेकोले पहिलो सोमबार नै आएको बताइन् । उनले अरुबेला भन्दा धेरैबेर लाइनमा बस्नुपरेको भन्दै ४ घण्टामा मात्रै पालो आएको बताइन् । पिण्डेश्वरमा जल चढाउने आउने भक्तजनले जलको साथै बेलपत्र, धतुरोका दाना तथा दही समेत शिवालयमा चढाउने गर्दछन् । करिब तीन दशक अघिदेखि प्राचिन हरिद्वार चतराबाट कोशी नदिको जल पिण्डेश्वरमा ल्याएर चढाउने संस्कार सुरु भएको हो । बराहक्षेत्र र चतरास्थित कौशिकी तटमा स्नान गरी शुद्ध जल उठाएर पिण्डेश्वर शिवालयमा ल्याई चढाएमा मनोआकांक्षा तथा आफुले सोचेको काम पुरा हुने विश्वास रहि आएको छ ।