पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरको पहिलो जातिका रुपमा धिमाल जाति घोषणा भएको खुसीयालीमा धिमाल समुदायले सोमबार साँझ पथरी चोकमा दिपावली गरेका छन् ।

नगरको पहिलो जाति पहिचान भएकोमा खुसी व्यक्त गर्दै ‘पहिलो नागरिक धिमाल जाति व्यवस्थापन समिति’ले दिपावली गर्दै धिमाल जातिको उत्थान एवम् प्रवद्र्धनका योजनाहरु नगरपालिकाबाट आउने अपेक्षा गरेको छ ।

त्यसअघि दिउँसो धिमाल समुदायको ठूलो संख्या जातिय पोशाक र सांस्कृतिक बाजागाजा सहित उल्लासमय रुपमा पथरी बजार परिक्रमा गरेर नगरपालिका कार्यालयमा सभामा परिणत भएको थियो । कार्यक्रममा, धिमाल जातिलाई पहिलो जातिका रुपमा सम्मानित पहिचान गराएकोमा खुसी व्यक्त गर्दै नगरप्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत नगरपालिका कार्यालयलाई धन्यवादपत्र ज्ञापन गरेको थियो । समिति संयोजक भूवनकुमार धिमाल र सचिव पदमबहादुर धिमालले धन्यवादपत्र ज्ञापन गरेका थिए ।

त्यस्तै, धिमाल जातीय विकास केन्द्र जिल्ला समितिले अध्यक्ष पितबहादुर धिमालमार्फत उसैगरी नगरपालिकालाई धन्यवादपत्र ज्ञापन गरेको छ ।

सभामा बोल्दै नगरप्रमुख राई, उपप्रमुख वास्तोला, प्रवक्ता यामप्रसाद गुरागाई, कार्यपालिका सदस्य भद्रमान विश्वकर्माले नगरपालिकाप्रतिको सम्मानप्रति हार्दिक आधार व्यक्त गर्दै धिमाल जातिको उत्थानका लागि कार्यक्रम ल्याइने जनाए ।

धिमाल जातिय विकास केन्द्रको केन्द्रीय समिति उर्लावारीले यसअघि नगरपालिका कार्यालयलाई कृतज्ञतापत्र प्रदान गरिसकेको छ ।

नगरपालिकाको गत असार २९ गतेको तेस्रो नगरसभाको विस्तारित वैठकले धिमाल जातिलाई नगरको पहिलो जातिका रुपमा घोषणा गरेको थियो । सो नगरपालिकामा धिमाल समुदायका ४ जना प्रतिनिधि रहेका छन् । झापाको दमक नगरपालिकाले पनि धिमाल जातिलाई पहिलो नागरिकका रुपमा पहिलो नगरसभाबाट घोषणा गरिसकेको छ । दमक नगरपालिकामा पनि ४ जना धिमाल प्रतिनिधि निर्वाचित छन् ।