पाँचथर । दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) संरक्षणमा स्थानीय तहको भूमिकाबारे सदरमुकाम फिदिममा कार्यशाला सम्पन्न भएको छ । फिदिम स्थित एक होटलमा शनिबार र आइतबार कार्यशाला भएको थियो । कार्यशालामा रेडपाण्डाको बासस्थान रहेको जिल्लाको फिदिम नगरपालिका, याङवरक गाउँपालिका र फालेलुङ गाउँपालिकाका जनप्रतिनिधिलाई सहभागी गराइएको थियो । रेडपाण्डा नेटवर्कको सहयोगमा दीपज्योति युवा क्लब सिदिनले कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा अवैज्ञानिक रूपले जताततै सडक खनिनाले रेडपाण्डाको बासस्थान मासिँदै गएकाले जहाँ पायो त्यहीँ सडक खन्ने काम रोक्नुपर्नेमा जोड दिइएको थियो । अल्पकालीन र दीर्घकालीन रूपमा पर्ने असरबारे गहन अध्ययन नै नगरी सडक खनिनाले बाढी पहिरोको जोखिमसँगै रेडपाण्डा संरक्षणमा पनि असर परेकाले आगामी दिनमा यस्ता कार्यलाई निरुत्साहित गर्ने फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्च केरुङले बताए । त्यस्तै चोरी शिकारी, वन डँढेलोजस्ता कारणले पनि रेडपाण्डा संरक्षणमा चुनौती थपिएको भन्दै यसबारे जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिनुपर्ने बताइएको थियो । कार्यशालाको सहजीकरण समृद्धि नेपालका कार्यकारी निर्देशक कमल भण्डारी र रेडपाण्डा नेटवर्ककका संरक्षण अधिकृत पेमा शेर्पाले गरेका थिए । जैविक विविधता संरक्षणमा सक्रिय दीपज्योति युवा क्लबले सन् २०११ देखि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा समुदायमा आधारित रेडपाण्डा संरक्षण तथा अनुगमन कार्यक्रम सञ्चालन गरिरहेको छ । नेटवर्कले रेडपाण्डाका लागि पिट (पाँचथर–इलाम–ताप्लेजुङ–) करिडोर बनाएर संरक्षणको काम गरिरहेको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तवाले बताए ।