जिरोपोइन्ट । दुबै मृगौला खराब भएर उपचाररत उस्सु प्रशिक्षक बिकी राईलाई आर्थिक सहयोग गरिएको छ । उनी विगत ६ महिनादेखि उपचाररत छन् । प्रशिक्षक राईलाई सोमबार धरान–८ स्थित सिद्धार्थ पुस्तकालयले आर्थिक सहयोग गरेको हो । पुस्तकालयका सदस्यहरू र पुस्तकालयमा सङ्कलित गरी ५१ हजार २० रुपैयाँ आर्थिक सहयोग गरिएको छ । पुस्तकालयबाट ६ हजार र बाँकी रकम पुस्तकालयका २१ जना सदस्यहरुले सङ्कलन गरेर बुझाएको पुस्तकालयका अध्यक्ष विसन्शोर राईले बताए ।
प्रशिक्षक राई पनि पुस्तकालयका सदस्य हुन् । उनलाई अध्यक्ष राई, उपाध्यक्ष कृष्ण राईलगायत सदस्यले रकम हस्तान्तरण गरे । उनको मृगौला प्रत्यारोपणमात्रै विकल्प रहेकाले दक्षिण भारतको कोयमतुर, तमिलनाडु जाने तय भइसकेको छ । प्रत्यारोपणको लागि करिब २० देखि २५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।