ताप्लेजुङ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नहुँदा असहज भएको बताएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै आयुक्त यादवले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि मात्र आयोगले निर्वाचन क्यालेण्डर बनाउनु पर्ने र प्रक्रिया अघि बढाउनु पर्ने हुँदा समस्या झेल्नु परेको बताए । निर्वाचनको मिति सुनिश्चित गरेर अघि बढ्नसके आयोगलाई मात्रै नभई सरकार, राजनीतिक दल र नागरिकलाई समेत सहज हुने यादवको भनाइ छ । आयोगसँग ६० दिनभित्रै निर्वाचन सम्पन्न गर्नसक्ने क्षमता रहेको दाबी गर्दै निर्वाचनको मिति तोक्ने अधिकार मन्त्रिपरिषद्लाई नभई आयोगलाई हुनुपर्ने गरी कानून परिमार्जन गर्न आवश्यक रहेकोमा उनले जोड दिए । यस्तै निर्वाचन निष्पक्ष बने मात्र प्रजातन्त्र बलियो हुने भन्दै उनले यसका लागि जनप्रतिनिधि, राजनीतिक दल लगायत सबै पक्षले ध्यान दिनुपर्ने बताए । नागरिक सचेत बन्नसके निर्वाचन निष्पक्ष हुने प्रष्ट पार्र्दै उनले नागरिकलाई शिक्षित र सचेत बनाउन अहिलेका जनप्रतिनिधिले ध्यान दिन जरुरी रहेको यादवको भनाइ छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, फुङ्लिङ नगरपालिकाका प्रमुखलगायतले यस अघि भाडामा कार्यालय सञ्चालन गर्दै आएको निर्वाचन कार्यालयलाई नयाँ भवन बनेपछि निर्वाचनका गतिविधि सञ्चालन गर्न सहज हुने बताएका थिए । १३ कोठे भवन २ करोड ३१ लाख ३१ हजार बढीको लागतमा निर्माण गरिएको हो ।