भद्रपुर । मुलुकका सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुखी ट्रष्टमा लैजाने माग राख्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएका छन् । झापा मेचीनगर क्षेत्रका विभिन्न बाह्रवटा सामाजिक संस्थाले प्रमुख जिल्ला अधिकारी जनकराज दाहालमार्फत मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापन पत्र पठाएका हुन् । पत्रमा राज्यले स्वास्थ्य र शिक्षामा नियन्त्रण गर्न नसक्दा सामान्य जनताको पहुँचबाट टाढा भएको, विभिन्न किसिमका विकृति देखा परेको र सुलभ एवं सरल स्वास्थ्य तथा शिक्षाबाट वञ्चित हुनुपरेको विषयमा ध्यानाकर्षण गराइएको उल्लेख छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा कुनै पनि दलका केन्द्रीय तहका नेताको लगानी भए तीन महिनाभित्र फिर्ता बोलाउने व्यवस्था मिलाउन समेत माग गरिएको पहिलो पाइलाका अध्यक्ष बिपी भट्टराइले बताए । स्वास्थ्य र शिक्षा जस्तो संवेदनशिल क्षेत्रलाई राष्ट्रियकरण गर्न माग गर्दै पत्र बुझाइको उनले जनाए ।
पत्रमा, प्रगतिशील कृषक समूहका सचिव ज्ञाननाथ घिमिरे, मेचीनगर मूल कृषक समूहका सचिव कञ्चन तामाङ ,प्रोग्रेसिभ युथका केन्द्रीय प्रतिनिधि मणिराम खतिवडा, समर्पण अभियानका अध्यक्ष प्रकाश खड्काल, मानव विकास एकता समाजका अध्यक्ष साङ्गे शेर्पालगायत दर्जन बढी संघसंस्थाका अध्यक्षले हस्ताक्षर गरेको पत्र बुझाएका थिए । बुझाएको ज्ञापन पत्रलाई प्रधानमन्त्रीको कार्यालयमा तत्काल पठाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।