विराटनगर–८ मा रहेको हाइमल डिस्टिल वाटरमा शिलबन्दी भएको छ । विनोद र रक्षा अर्यालले वर्षौंदेखि सञ्चालन गरेको उक्त उद्योगले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र लिए पनि दुई वर्षदेखि नवीकरण नगरेको पाइएपछि सोमबार अनुगमन टोलीले शिलबन्दी गरेको हो । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा गरिएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्तावादी संस्था पब्लिक फोरम, आन्तरिक राजस्व, वाणिज्य कार्यालय, पानी उत्पादक सङ्घ र सञ्चारकर्मीहरुको उपस्थितिमा सोमबार ६ वटा उद्योगमा अनुगमन गरिएको थियो । जसमा विराटनगरमा रहेको श्रीजल उद्योग, शितल जल उद्योग, हाम्रो प्रयास जल उद्योग, माउन्टेन वाटर इण्डष्ट्रिज, पूर्वाञ्चल निर्मल जल उद्योगमा अनुगमन गरेको मन्त्रालयका उपसचिव गोपीप्रसाद घिमिरेले जानकारी दिए । अनुगमनकोे क्रममा विराटनगर–८ मा गणेश खड्काले सञ्चालनमा गरेको निर्मल जलमात्र व्यवस्थित रूपमा सञ्चालनमा रहेको पाइएको थियो । अन्य उद्योगहरूले मापदण्ड पूरा नगरेको पाइपछि तत्काल खाद्यले तोकेको मापदण्ड पूरा गर्न निर्देशन दिएको छ ।