रङ्गेली । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने आवाज उठिरहेका बेला विराटनगरका रेडियोलोजिष्टहरुले एक पक्षीय रूपमा आफ्ना सेवाहरुको मूल्य वृद्धि गरेका छन् । साउन १ गतेबाट लागू हुने गरी उनीहरुले विभिन्न सेवामा ३० देखि शतप्रतिशतसम्म वृद्धि गरेका हुन् । रेडियोलोजी सेवा अन्तर्गत उनीहरुले शरीरका विभिन्न भागकोे भिडियो तथा डिजिटल एक्स–रे सेवा शुल्कमा एकलौटी वृद्धि गरेका हुन् । कुनै पनि वस्तु वा सेवाको शुल्क वृद्धि गर्दा सम्बन्धित निकायको स्वीकृति लिएर मात्र गर्नुपर्ने कानूनी प्रावधानलाई लत्याउँदै उनीहरुले शुल्क वृद्धि गरेका छन् । यसरी कुनै पनि जानकारी बिनै एकाएक मूल्य वृद्धि गरेपछि सेवाग्राही मर्कामा परेका छन् । निम्नवर्गका सर्वसाधारणको पहुँचबाट झनै टाढा पुग्ने अवस्थामा पुगेको छ स्वास्थ्य सेवा । सामाजिक विकास मन्त्रालयले स्वास्थ्य शिक्षाको नियामक निकाय भए पनि उक्त निकायलाईसमेत जानकारी नगराई गरिएको मूल्य वृद्धि गैर कानूनी भएको पब्लिक फोरम नेपालका अध्यक्ष उत्तम ढुङ्गेलले बताए । यसले कानूनी राज्यकै उपहास भएको उनको भनाइ थियो । उनले यस्तो कार्य गर्नेलाई राज्यले कारबाहीको दायरामा ल्याउनु पर्ने बताए । एक साताअघि सामाजिक विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा रेडियोलोजिष्टहरुले गरेको मूल्य वृद्धिको अनुगम गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए पनि अहिलेसम्म हुन सकेको छैन । आनन्द अल्ट्रा साउण्डका सञ्चालक डा.वाईआर पाठकले पछिल्लो समय नेपालमा भइरहेको मूल्य वृद्धिको कारणले आफूहरु पनि मूल्य वृद्धि गर्न बाध्य भएको बताए । डा. पाठक कोशी अञ्चल अस्पतालको रेडियोलोजी विभागका प्रमुख पनि हुन् । सरकारी अस्पताल कोशी अञ्चलमा भने यसको सेवा प्रभावकारी छैन । सेवा प्रभावकारी नहुँदा बिरामीहरु निजी रेडियोलोजीको सेवा लिन बाध्य छन् । विराटनगरमा सीमित मात्रै अल्ट्रासाउण्ड गर्ने क्लिनिकहरु रहेका छन् । तिनै सीमित अल्ट्रासाउण्डले एकपक्षीय मूल्य वृद्धि गराएका हुन् । आफ्नो अल्ट्रा साउण्ड क्लिनिकमा बिरामीलाई जान बाध्य पार्न सरकारीस्तरको कोशी अञ्चल अस्पतालको सेवा फितलो बनाएको जानकारहरु बताउँछन् ।