पथरीशनिश्चरे । स्थापना भएको ३२ बर्ष पछि मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघले आफ्नो कार्यालय भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरेको छ ।

पथरीशनिश्चरे २ सृजना चौकमा रहेको सिनभिलेज पार्टी प्यालेस नजिकै ५३ लाखमा ३ कठ्ठा जमिन खरिद गरिएको संघका अध्यक्ष दीपक बस्नेतले जनाए । पथरीको नर्वदेश्वर शिवालय मन्दिर परिसरको भवनमा बस्दै आएको संघको कार्यालयका लागि त्यहाँ जग्गा माग भएपनि विवाद बढिरहेर जग्गा व्यवस्थापन हुन सकेको थिएन । पथरी चोकी उत्तर जाँतेमोडमा पनि विवाद कायम रहेको अवस्थामा वर्तमान कार्यसमितिले सहयोग जुटाएर संघको गरिमालाई कामय राख्दै व्यवस्थित कार्यालयका लागि जग्गा व्यवस्थापन गरिएको अध्यक्ष बस्नेतले उल्लेख गरे । उनले अब सहयोग जुटाएर भवन निर्माण थााल्ने लक्ष्य रहेको योजना सुनाए । संघको कार्य समिति, नगरपालिका र ब्यवसायीहरुको स्वतःस्फुुर्त सहयोगमा रकम सङकलन गरेर भवन निर्माणका लागि जग्गा खरिद गरिएको बेलिबिस्तार लगाए ।

२०४३ सालमा व्यापार प्रवन्ध समितिका रुपमा स्थापना भएको संघ हालसम्म नर्वदेश्वर शिवालय मन्दिरको भवनमा रहेर आफ्नो कार्य गर्दै आएको थियो । संघको निर्वाचनमा आफ्नो कार्यकालमा जग्गा र भवनको व्यवस्थापन गर्ने अठोट लिएर बस्नेतको अगुवाईमा नयाँ समिति बनेको थियो ।