विराटनगर । प्रतिष्ठित व्यापारी घरनाबाट विराटनगर– १५ मिल्स एरियामा सञ्चालनमा रहेको हुलास प्यूरिफाइड वाटर इण्डस्ट्रिज प्रा. लि.ले उत्पादन गर्ने पानीमा पोटासियम मिसावट गर्ने गरेको पाइएको छ ।

पानीको अम्लियपन (पिएच) बढाउनको लागि उद्योगले खाद्य नियन्त्रण तथा गुण कार्यालयले प्रतिबन्ध लगाएको तत्व मिसाउने गरेको अनुगमनको क्रममा फेला परेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ६ देखि ८ दशवलप ५ पिएच भएको पानीमात्र पिउन योग्य हुने मापदण्ड तोकेको छ ।  खाद्यले तोकेको मापदण्ड पुरा गर्न सुरेन्द्र गोल्छाले सञ्चालन गरेको उद्योगले पोटासियम मिसावट गर्ने गरेको मंगलबार अनुगमनको क्रममा फेला परेको हो ।

‘पानीमा पोटासियम मिसावट गर्न प्रतिबन्ध लगाएका छौं,’ क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम आर्यालले भने, ‘हुलास पानी उद्योगलाई तत्काल अटाउन निर्देशन दिएका छौं ।’

उद्योगले २० रुपैयाँ पर्ने पानीलाई ३० रुपैयाँ मूल्य राखेर बिक्री गर्दै आएको पनि पाइएको छ । हुलासमा पानी भर्ने ठाउँमा मार्वल टायल नलगाएको अनुगमनको क्रममा भेटिएको थियो । हुलास पिउने पानीको बोतलमा ३० रुपैयाँ मूल्य उल्लेख गरिएको तर बिलिङ्ग प्रति बोतल १२ रुपैयाँ १२ पैसा मात्रै गरेको पाइएको थियो ।

यस उद्योगले प्रतिघण्टा ३ हजार लिटर पानी उत्पादन गर्ने गरेको प्रा.लि.का जिएम किशोर दुगडले जानकारी दिए । मानव स्वास्थ्यलाई अति आवश्य पर्ने पानीमा विराटनगरका अधिकाश पानी उद्योगहरुले हेलचेक्राइ गरेको अनुगमनको क्रममा देखिएको  पब्लिक फोरम नेपालका अध्यक्ष उत्तम ढुङलले बताए । उनले यहाँका अधिकांश उद्योगले उत्पादन गरेको पानीको मूल्यमा एकरुपता नरहेको बताए ।

चार दिनमा पाँच वटा पानी उद्योगमा शिल प्रदेश १ को सामाजिक विकास मन्त्रालयतको नेतृत्वमा चार दिनदेखि विराटनगरको पानी उद्योगमा गरिएको अनुगमनको क्रममा मंगलबारसम्म पाँच वटा पानी उद्योगमा शिलबन्धी गरिएको छ । अनुगमनको क्रममा अनुज्ञापत्र बेगार सञ्चालनमा रहेको र वर्षौदेखी दर्ता नगरेको पानी उद्योगहरुमा शिलबन्धी गरिएको हो । एसएसएस जल उद्योग विराटनगर ६, विराटनगरको जामुनगाछीस्थित अक्वा पूजा पिउने पानी उद्योग, विराटनगर ४ मा निक्कीगंगा पिउने पानी उत्पादन गर्दै आएको गोमारानी उद्योग, हाहिमल वाटर इण्डस्ट्रिज विराटनगर १० मधुमारा, भूमिजल उद्योग विराटनगर १२ लाई सिल गरेको हो ।