पाँचथर । जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका जनप्रतिनिधि सहितको टोलिले कृषकको बारीमा पुगेर टमाटरको अनुगमन गरेका छन् । एक महिनाभन्दा अघिदेखि टमाटर निकासी हुन नसक्दा कृषकको उत्पादन बारी र सडकमै कुहिएर गइरहेको छ । केही दिन अघि किसानले टमाटर सडकमा पोखेर सांकेतिक आन्दोलन गरेपछि जनप्रतिनिधि किसानको बारीमा पुगेको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष कमल कुमारी योङहाङ नेतृत्वको अनुगमन टोलिले यतिका टमाटर जिल्लामै पनि खपत गर्न सकिने अवस्था देखिएको बताएको छ । यसका लागि कृषक, स्थानीय तह र व्यवसायीबीच पहल थालिने याङवरक गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत डम्बर आङदेम्बेले बताए । साउन ११ गते याङवरकको परेवाडाँडामा बृहद छलफल समेत गरिने वडा नम्बर ६ का वडाअध्यक्ष कुमारी तामाङले बताइन् । टमाटरको पकेट क्षेत्र समेत घोषणा गरिएको सो क्षेत्रमा उत्पादित टमाटर प्रतिदिन २० पिकअप पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुँदै आएको थियो । निर्यात हुने सूचीमा नपरेको भन्दै भारतले टमाटर निकासी नगरेको एक महिना नाँचेको छ । प्रतिकिलो एक रुपैंयाँमा पनि टमाटर नबिकेपछि किसानले सहज निकासीको व्यवस्था मिलाउँन आग्रह गर्दै आएका छन् ।