ताप्लेजुङ । फुङलिङ नगरपालिका सार्ने विषयले उत्पन्न बिवाद साम्य भएको छ । हाल कोठा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले असार मशान्तमा खारेज भएका कार्यालय भवनमा आफ्नो कार्यालय व्यवस्थापन गर्ने तयारी गरे पछि स्थानीय ले आन्दोलनका कार्यक्रम नै घोषणा गरेर आन्दोलित बनेका थिए ।

नगरपालिकाको वडा नम्बर ७ दोखुमा स्थानीयले निशुल्क उपलब्ध गराएको जग्गामा नगरपालिकाको भवन निर्माणाधिन अवस्थामा रहेको छ । उक्त भवनको निर्माण कार्य तत्काल सम्पन्न गरेर आफ्नै भवनमा सार्नु पर्ने माग गर्दै स्थानीयबासी विगत केही दिनदेखि आन्दोलित बनेका थिए । आन्दोलन उत्कर्षमा पुगे पछि आज बसेको नगर कार्यपालिकाको बैठकले अर्को व्यवस्था नभए सम्मका लागि अहिले रहेकै ठाउँ (विरेन्द्र चौक) मा कोठा थप गरि कार्यालय व्यवस्थापन गर्ने निर्णय गरे पछि आन्दोलित स्थानीयले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

यता नगरपालिकाले भने आफ्नै कार्यालय निर्माणाधिन अवस्थामा रहेको र हाल भाडा तिर्नु परेकाले खारेज भएका अन्य कार्यालय भवनमा आफ्नो कार्यालय व्यवस्थान गर्ने तयारी भईरहेको बेला स्थानीय आन्दोलित भएको बताएको छ । यस अघि नगरपालिकाको कार्यलय निर्माणका लागि जग्गा खोजिए पछि दोखु स्थित कफिहाउस टोलका स्थानीयले निशुल्क रुपमा जग्गा प्रदान गरेका थिए । उक्त ठाउँमा नगरपालिकाको भवन निर्माणाधिन अवस्थामा रहेको छ । उक्त भवनको थप निर्माणका लागि अर्को नगरसभाबाट बजेट विनियोजन गर्ने समेत आज निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताए । कार्यालय बन्छ भनेर जग्गा दिए पछि अन्यत्रै सार्ने चर्चा चले पछि स्थानीय आन्दोलित बनेका हुन् ।