पानवारी । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आवासिय चिकित्सकले बैकल्पिक ओपिडि सेवा सञ्चालन गरेका छन् । डा. गोविन्द केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउदै आन्दोलन स्वरुप प्रतिष्ठानको मुख्य प्रशासनिक भवन अगाडी खुला चौरमा बैकल्पिक ओपिडि सञ्चालन गरेका हुन् । आवासिय चिकित्सकले डा. केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बिहीबारदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विहीबार र शुक्रबार ओपिडि सेवामा काम नगरी सामुहिक सत्याग्रहमा बसेका आवासिय चिकित्सकले सोमबार र मंगलबार समेत आकष्मिक सेवामा मात्रै काम गरे । बुधबार विपिको चौरमा निःशुल्क ओपिडि सञ्चालन गरेका आवासिय चिकित्सकले चौरमा बसेर विरामीलाई सेवा दिएका थिए । विपिमा पुगेका विरामीलाई जाँचेर तत्काल कुनै परिक्षण गर्नुपर्ने स्थितिका विरामीलाई इमरजेन्सीबाट पुर्जी काटेर परिक्षण गराएको जुनियर रेसिडेन्सियल वेलफेयर सोसाइटीका अध्यक्ष जीवनाथ धमलाले बताए । उनले बाहिर चेकजाँच गर्न नमिल्ने बिरामीलाई भने भित्रै चेकजाँच गरेको बताए । उनका अनुसार गाइनोकोलोजी, युरोलोजी जस्ता प्रकृतिका बिरामीलाई भने भित्रै सेवा दिइएको थियो । विरामीका आफन्त आक्रोसित बुधबार बिहान ५ बजेदेखि लाइनमा बसेर भाइलाई उपचार गराउन टिकट काटेकी पाँचथरकी बिना खरेल आक्रोसित हुँदै चिकित्सक माथि खनिइन् । झापा मेचिनगर–२ बाट आएका सीताराम ढकाल, संखुवासभाबाट आएका नवराज राय विपिका चिकित्सकमाथि आक्रोस पोख्दै थिए । उनीहरुमात्र होइन विपिमा उपचार गराउनको लागी विहान ५ बजेदेखि लाइनमा बसेका धेरै विरामीका आफन्त बुधबार विहान आक्रोसित भइ चिकित्सक माथि खनिएका थिए । विहान झण्डै एक घण्टा जती काउण्टर खुल्दा टिकट काटेका बिरामीका आफन्तले बिना जानकारी ओपिडि बन्द गरेको, बिरामीलाई उपचार गर्नुपर्ने डाक्टरहरु आन्दोलन गर्न गएको भन्दै आक्रोसित भएका थिए । ४ दिनदेखि कहिले विपिको इमरजेन्सी, कहिले वार्ड हुदै बुधबार ओपिडिमा देखाउन विपिकै चिकित्सकले सुझाएपछि आफ्नो भाइको मानसिक समस्या लिएर आएकी पाँचथरकी बिना खरेल टिकट काउण्टर बन्द भएपछि निकै रिसाइन् । उनले ४ दिनदेखि यता र उता भन्दै दुःख पाएको र अहिले फेरी बन्द गर्न डाक्टरहरु नै अघि सरेको भन्दै आक्रोसित भएकी थिइन् । त्यस्तै संखुवासभाबाट खुट्टामा चोट लागेर ६ महिनादेखि घाइते भएका नवराज राय पनि आक्रोसित देखिन्थे । अघिल्लो दिन धरान आइ होटलमा बसेर विहानै लाइन बसेका उनी आवासिय चिकित्सकले गरेको आन्दोलनले बिरामीलाई मार परेको भन्दै गुनासो गर्दै थिए । बिहान करिब ९ बजेको समयमा आवासिय चिकित्सकले निःशुल्क ओपिडि सञ्चालन गर्ने भन्दै विपिको टिकट काउण्टर बन्द गराएपछि चिकित्सक र टिकट काट्न लाइनमा बसेका सर्वसाधरण बीच तनाव उत्पन्न भएको थियो । टिकट काट्न लाइनमा बसेका सर्वसाधरणलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालयबाट प्रहरी नै परिचालन गर्नुपरेको थियो । केसी र सरकारबीचको वार्ता निष्कर्ष विहिन डा. गोविन्द केसी र सरकारी वार्ता टोलिबीच बुधबार भएको वार्ता निष्कर्षमा नपुगि टुंगिएको छ । डा. केसीको तर्फबाट वार्ता टोलीमा रहेका डा. सुरेन्द्र भण्डारीले सरकारले केसीको मागप्रति लचकता नअपनाएको र मागहरु विषयगत रुपमा वार्तामा प्रवेश नगरेकोले वार्ता असफल भएको जनाए । सरकारले भने राजनीति भएका कारण वार्ता असफल भएको जनाएको छ । https://youtu.be/-1bNQGsMtyg