इटहरी । इटहरीमा सञ्चालित दुई केवल नेटवर्कका एनालग प्रसारण बन्द भएका छन् । सूचना तथा सञ्चार मन्त्रालयको टोलीले एनालग प्रणालीबाट सञ्चालित इटहरीका पशुपति केबल नेटवर्क र सुनसरी केबल बन्द गराएको हो । मन्त्रालयको टोली बाहिरिएको केही समय नबित्दै बन्द गरिएकोमध्ये सुनसरी केबलले भने पुनः एनालग सञ्चालनमा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव तुलसीप्रसाद घिमिरेको नेतृत्वमा टोली आएको थियो । सरकारले साउन १ गतेबाट एनालग प्रणालीबाट सञ्चालित केबलहरु बन्द गराउने निर्णय गरेको थियो । सरकारले अनिवार्य डिजिटल प्रणालीमा जानका लागि केबल कम्पनीहरुलाई निर्देशन जारी गरेको थियो । तर, कतिपयले अहिले पनि एनालग प्रसारण रोकेका छैनन् । टोली काठमाडौं फर्किएलगत्तै सुनसरी केबलले एनालग टीभी सञ्चालन गरेको भन्दै जिल्ला हुलाक कार्यालय धरानमा उजुरी परेको छ । सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ को नियम ४ (क) मा एनालग प्रणालीमा सञ्चालित केबल टेलिभिजनलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमा लान निर्देशन जारी गरेको थियो । सरकारले एनालग प्रणालीमा सञ्चालित केबल नेटवर्कहरू बन्द गराउने निर्देशन अनुरुप नै आफूहरु अनुगमनमा आएको सञ्चार मन्त्रालयका उपसचिव तुलसीप्रसाद घिमिरेले बताए । अनुगमनका क्रममा एनालग नै सञ्चालित भएको पाइएपछि बन्द गराउन दिर्नेशन दिएको उनले बताए । यता इटहरीका केबल व्यवसायी तथा पशुपति केबल नेटवर्कका प्रमुख कार्यकारी अधिकृत मुकुन्दराज भट्टराईले सरकारको नियमभित्रै रहेर आफूले एनालग टीभी पूर्णरूपमा बन्द गराएको बताए । सञ्चार मन्त्रालयले गत २०७५ वैशाख १५ गतेदेखि नै सम्बन्धित केबलहरूलाई पत्राचार गरी तत्काल एनालग प्रणाली बन्द गर्न आग्रह गरेको थियो । सुनसरी केबलविरुद्ध उजुरी सुनसरी केबल नेटर्वकले सरकारको निर्देशन अवज्ञा गरेको भन्दै उजुरी परेको छ । सरकारको निर्देशनअनुसार बन्द गरेको २ घण्टा नबित्दै सुनसरी केबलले एनालग टीभी सञ्चालन गरेको भन्दै बुधबार जिल्ला हुलाक कार्यालयमा उजुरी परेको हो । सुनसरी केबलका सञ्चालक प्रेमबहादुर बस्नेतले मन्त्रालयको टोली आउँदा एनालग बन्द गर्ने भनी हस्ताक्षर गरेको केही समय नबित्दै सञ्चालनमा ल्याएपछि उनीविरुद्ध जिल्ला हुलाकमा उजुरी परेको हो । यता जिल्ला हुलाक कार्यालयका प्रमुख रमेशकुमार घिमिरेले सुनसरी केबलविरुद्ध उजुरी परेको स्पष्ट पारे । नियमविपरीत सञ्चालनमा ल्याउने सुनसरी केबललाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको उनले बताए ।