पाँचथर । जिल्लाको हिलिहाङ र याङ्वरक गाउँपालिकाका जनप्रतिनिधि सहितको टोलीले कृषकको बारीमा पुगेर टमाटरको अनुगमन गरेका छन् । एक महिनाभन्दा अघिदेखि टमाटर निकासी हुन नसक्दा कृषकको उत्पादन बारी र सडकमै कुहिएर गइरहेको छ । केही दिनअघि किसानले टमाटर सडकमा पोखेर साङ्केतिक आन्दोलन गरेपछि जनप्रतिनिधि किसानको बारीमा पुगेका हुन् । याङ्वरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङ्हाङ नेतृत्वको अनुगमन टोलीले यत्तिका टमाटर जिल्लामै पनि खपत गर्न सकिने अवस्था देखिएको निक्र्यौल निकालेको छ । यसका लागि कृषक, स्थानीय तह र व्यवसायीबीच पहल थालिने याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेले बताए । साउन ११ गते याङ्वरकको परेवाडाँडामा बृहत् छलफलसमेत गरिने वडानम्बर ६ का वडाअध्यक्ष कुमारी तामाङले बताइन् । टमाटरको पकेट क्षेत्रसमेत घोषणा गरिएको सो क्षेत्रमा उत्पादित टमाटर प्रतिदिन २० पिकअप पूर्वी नाका काँकडभिट्टाहुँदै भारततर्फ निकासी हुँदै आएको थियो । निर्यात हुने सूचीमा नपरेको भन्दै भारतले टमाटर निकासी नगरेको एक महिना नाघेको छ । प्रतिकिलो एक रुपैयाँमा पनि टमाटर नबिकेपछि किसानले सहज निकासीको व्यवस्था मिलाउन आग्रह गर्दै आएका छन् ।