विर्तामोड । बी एण्ड सी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंले माफी मागेका छन् । झण्डै १३–१४ महिनाअघि बोलेको भिडियोमा रहेको एउटा शब्दले नेपाली चेलीहरुमाथि पर्न गएको असरप्रति आफू दुःखी भएको उनले बताए । उनले त्यसबेला नेपालमै ठूला–ठूला कलकारखाना हुन् र सबैले यहीँ पढ्न पाउन्, काम गर्ने अवसर पाउन् भन्ने आशयले विदेशमा जाँदा महिलाहरु असुरक्षित हुन्छन् भन्ने कुरा बोलेको स्पष्टीकरण दिएका छन् । छोरीचेलीको अपमान गर्ने दुर्गा प्रसाईं भन्दै पुरानो भिडियोलाई काटेर सामाजिक सञ्जालमा भाइरल बनाएकोप्रति भने उनले दुःख व्यक्त गरे । उनले भिडियोमा बोलेको कुरा स्पष्ट पार्र्दै भने, ‘मेडिकल कलेज सञ्चालक हो भनेर छोराछोरीले आफूलाई चिनाउनसमेत हिच्किचाउने अवस्था छ भनेको भिडियोलाई काटेर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ’ उनले भने, ‘आफ्नी छोरीलाई माया नगर्ने प्रसाईं भनेर सामाजिक सञ्चालमा प्रचारबाजी भएको छ ।’ त्यसरी काटेर सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति ध्यानाकर्षण भएको उनले बताए । उनले लामो भिडियो सबै सुनेर प्रतिक्रियामा उत्रिन आग्रह पनि गरेका छन् । आफूले बोलेको शब्दले नेपाली चेलीबेटीको अस्मितामाथि पर्न गएको क्षतिलाई ध्यानमा राखेर माफी मागेको उनले बताए । उनले २९ लाखभन्दा बढी नेपालीका लागि स्थापना भएको अस्पतालमा ८ सयले रोजगारी पाउँदै गरेको बताए । प्रसाईंको अभिव्यक्तिपछि बङ्गलादेशमा नेपाली चेलीबेटीमाथि यौनजन्य हिंसाको घटना हुने खुलासा गरेका कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा तामाङको अभिव्यक्तिको चर्काे आलोचना भएपछि उनले मङ्गलबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । तामाङसँगै प्रसाईंको पनि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । मेडिकल कलेजको सम्बन्धनका लागि बी एण्ड सी प्रक्रियामा छ । सम्बन्धनको विपक्षमा रहेका डाक्टर गोविन्द केसी भने २७ दिनदेखि आमरण अनशनमा छन् । प्रसाईंको अभिव्यक्तिपछि नेपाल महिला सङ्घले विरोध प्रदर्शन गरेको थियो । ‘केही नेपाली चेलीबेटीका सङ्घ–संस्थाले अस्पतालमा आएर कालोझण्डा देखाएकोमा मलाई दुःख लागेको छ’ प्रसाईंले भने, ‘१३–१४ महिनाअघि बङ्गलादेशमा भएका घटना र सञ्चारमाध्यममा आएका समाचारको आधारमा त्यो उदाहरण दिन खोजेको बताउँदै कुनै नेपाली चेलीबेटीको अस्मितामा आँच आउने किसिमको कुरा भन्न खोजेको थिइनँ ।’