[caption id="attachment_88686" align="alignnone" width="720"] पत्रकार सम्मेलनमा काङ्ग्रेस कार्यकर्ता[/caption] इटहरी (ब्लाष्ट) नेकपा सम्बद्ध युवाहरूले नेपाली काङ्ग्रेस इटहरी–१० का वडासभापति प्रकाश कोइराला र तरुण दलका सभापति संजोक अधिकारीलाई नेकपाको सदस्य बन्न जबरजस्ती गरेको आरोप लगाएका छन् । धनकुटाको नाम्जेमा नेकपाको कार्यकर्ता बन्नु पर्छ भन्दै जबरजस्ती फूल लगाई दुर्व्यवहार गरेको उनीहरुको आरोप छ । बिहीबार इटहरीमा रहेको रिपोटर्स क्लब सुनसरीमा पत्रकार सम्मेलन गर्दै इटहरी–१० का वडासभापति प्रकाश कोइरालाले आफूलाई ‘कार्यकर्ता बन’ भन्दै दुव्र्यवहार गरेको बताए । मादक पदार्थ सेवन गरेका रुपेश बस्नेतलगायतले ‘तँ अनिवार्य प्रवेश गर्नु पर्छ काङ्ग्रेस जस्तो फटाह पार्टीमा बस्नु हुँदैन भन्दै अमर्यादित व्यवहार गरे ।’ कोइरालाले भने । उनले आफूमाथि अन्याय भएको भन्दै बुधबार नै प्रहरी चौकी भेडेटारमा उजुरी गरेको बताए । ‘एमाले कार्यकर्ताहरूले जबरजस्ती ‘नेकपा जिन्दावाद’ भन् भने तर मैले नभन्दा ममाथि मुक्का प्रहार भयो ।’ पत्रकारहरूसँग कोइरालाले भने, ‘म जस्तो पार्टी सभापतिलाई त यसो गर्छन् भने सामान्य कार्यकर्ताहरू कसरी बसेका होलान ?’ यता नेकपाका युवा रुपेश बस्नेतले भने आफूहरूले त्यसरी कसैलाई दबाव नदिएको बताए । ‘पर्यटकीय क्षेत्र नाम्जेमा प्रशिक्षण कार्यक्रममा जाँदा भेटघाट भएको थियो, उनीहरूले ‘कम्युनिष्ट अधिनायकवाद’ भन्दै हामीलाई दुव्र्यवहार गरे, हामीले होइन ।’ बस्नेतले भने, ‘विषय सामान्य थियो पत्रकार सम्मेलन नै भए छ ?’ बस्नेतले राजनीतिक विषयमा विवाद भएको स्वीकारे । उनले आफूहरू नेकपाका नेता कार्यकर्ता भएपनि कसैलाई जबरजस्ती नगरेको स्पष्ट पारे । बस्नेतले भने, ‘जबरजस्ती गरेका छैनौँ, यो आरोप मात्र हो ।’