इटहरी । लामो समय देखि आर्थिक अनियमितताका कारण विवादित बन्दै आएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरामा पुःन विवादमा देखिएको छ । कार्यालयका प्रमुख र लेखा शाखाले आर्थिक अनियमितता गरी कार्यालय धरासायी बनाएको भन्दै त्यहाँँका कर्मचारीले आफ्नै कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । बिहीबार आफ्नै हाकिमको विरोध गर्दै कार्यकक्षमा ताला लगाए । कार्यालय प्रमुख रामबली शाह, लेखा प्रमुख शोभितलाल यादवले अनुसन्धान केन्द्र नै धरासायी बनाउने गरी आर्थिक अनियमितता गरेको भन्दै तालाबन्दी गरिएको कर्मचारीले बताएका छन् । कर्मचारीले स्टोर शाखाका कृष्ण पोखरेलको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । पोखरेलले भ्रष्टाचार नगरे पनि शाह र यादवले चलखेल गर्न सक्ने भन्दै स्टोर शाखामा पनि तालाबन्दी गरिएको छ । अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत डिल्ली भट्टराईले कृषि केन्द्र भित्र अनियमितता भएको कारण कार्यालय प्रमुख, लेखा शाखा र स्टोर किपरको कार्यकक्षमा तालाबन्दी गर्नु परेको बताए । ‘हामीलाई आफ्नै कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने मन थिएन, कार्यालय नै धरासायी हुन थालेपछि तालाबन्दी गर्नु परेको उनको भनाइ थियो । लामो समयदेखि कर्मचारी प्रशासनले अनियमितता गदै आएको उनको आरोप थियो । अनुसन्धान केन्द्रमा लामो समयदेखि लेखा शाखाका यादव र कार्यालय प्रमुख शाहले भौतिक संरचना निर्माण, ममर्त, पशुपंक्षीको दाना, ज्यामी ज्याला, इन्धनलगायतका क्षेत्रमा ब्यापक भ्रष्टाचार भएको भन्दै तालाबन्दी गरिएको हो भट्टराईको भनाइ छ । ‘हरेक क्षेत्रमा काम गर्दा पैसा माग्ने तथा अनियमितता गर्ने गरेकाले उनीहरूको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।’ भट्टराईले भने, ‘हामीले बारम्बार हाकिम र लेखालाई अनियमितता नगर्न चेतावनी दिँदै आएका थियौँ नमाने पछि तालाबन्दी गरेका हौँ ।’ ज्यालादारी कर्मचारीको तबल दिनसम्म सोर्स चाहिन्छ । कार्यालय प्रमुख र लेखापालको एकलौटी निर्णय गरी हरेक क्षेत्र तथा शाखामा कमिशन माग्ने गरेको नाम नबताउने शर्तमा एक कर्मचारीले भने । ‘अनुसन्धान केन्द्रभित्र वार्षिक झण्डै १० करोडको हाराहारीमा बजेट आउने गरेको भए पनि उक्त बजेट दुरुपयोग हुँदै आएको छ ।’ कर्मचारी भन्छन् । लेखापाल यादवले मनोमानी गर्ने गरेको उनको आरोप थियो । ‘केही वर्ष अगाडि पनि भ्रष्टाचारमा परे पछि सरुवा भएका यादव पुनः पैसाको बलमा यही आएका छन् ।’ ती कर्मचारीले भने । यता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका प्रमुख रामबली साहले भने कर्मचारीलाई सामान्य कुरामा चित्त नबुझेको कारण कार्यकक्षमा ताला लगाएको बताए । कर्मचारीले शङ्का उपशङ्काकै आधारमा कार्यालयको कार्यकक्षमा ताला लगाइदिएको उनको भनाइ थियो । ‘राजनीति चलखेल भयो मेरो, लेखा शाखा र स्टोर रुममा ताला छ ।’ उनी भन्छन्, आर्थिक अनियमितता गरेको प्रमाण देखाउनु प¥यो नि मैले कुनै आर्थिक अनियमितता गरेको छैन,’ उनी थप्छन्, सरकारी काम गर्दा कसैलाई चित्त नबुझेको हुन सक्छ, कुनै साथीलाई चित्त बुझ्दैन भने कानुनी निकायमा जान सक्छन् ।’ कार्यालयमा अनियमितता भएको भन्दै नार्कले अनुसन्धान समेत गरिरहेको छ ।