इटहरी । बाख्रा चराइरहेकी महिलामाथि सशस्त्र प्रहरीले हातपात गरेको विषयले सुनसरीको घुस्की बजार बिहीबार पनि तनावग्रस्त बनेको छ । तर प्रहरीले भने भारतबाट तस्करी गरेर खसीबाख्रा ल्याएकाले नियन्त्रण लिने क्रममा झडप भएको दाबी गरेको छ । सशस्त्र प्रहरीले तस्करीको क्रममा स्थानीय महिला मैतान खातुनमाथि आक्रमण गरेको भन्दै घुस्कीबासी सशस्त्र प्रहरीमाथि बिहीबार पनि खनिएका हुन् । स्थानीयले कारबाहीको माग गर्दै घुस्की बजारमा सशस्त्रविरूद्ध प्रदर्शन गरेका छन् । सुनसरीको हरिनगरा गाउँपालिकास्थित घुस्कीको घटनाले फरक मोड लिने स्थिति देखा परेको छ । स्थानीयले महिलामाथि दुव्र्यवहार गरेको घटनालाई मोड्न तस्करीको आरोप लगाएको बताएका छन् । महिलालाई कुटेको विषय मोड्न सशस्त्रले तस्करीको आरोप लगाएको हरिनगरा–६ का वडासदस्य दाउद अन्सारीको आरोप छ । महिलालाई कुटपिट गर्ने सशस्त्र प्रहरीमाथि कारबाही गरिनु पर्ने उनको माग छ । बुधबार महिलामाथि दुव्र्यवहार भएपछि गाउँ नै सशस्त्र प्रहरीविरुद्ध खनिएको थियो । त्यसबीचमा सशस्त्र प्रहरीले हवाई फायरसमेत गरेको थियो । हरिनगरा–६ र ७ को बीचमा बाख्रा चराउँदै गरेकी मैहनाज खातुनलाई सशस्त्रका दुई घुमुवाले दुव्र्यवहार गरेको स्थानीयको आरोप छ । तर प्रहरीले भने भारतबाट तस्करी गरी खसीबाख्रा ल्याउन लागेपछि रोक्ने क्रममा स्थानीयसँग विवाद सिर्जना भएको थियो । त्यही विवादले उग्र रूप लिएपछि प्रहरीले घटनालाई नियन्त्रण लिन हवाई फायर गरेको बताएको छ । त्यसक्रममा ८ जना प्रहरी र दुई स्थानीय घाइते बनेको बताइएको छ । स्थानीय महिला कैजुम जदलाई गोली लागेको स्थानीयको दाबी छ । मेहेनाज खातुन, बैजुग मियाँलगायतका सर्वसाधारणलाई प्रहरीले चलाएको गोली लागेको उनीहरु बताउँछन् । उनीहरूमध्ये केहीको नोबेल अस्पतलामा उपचार भइरहेको हरिनगरा गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतले बताइन् । ‘हातमा कचिया बोकेर बाख्रा चराउने महिलालाई चोरीको आरोप लगाउन मिल्छ ?’ –उनले भनिन् । महिलामाथि अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरिन् । यता सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय एसपी सुरेश श्रेष्ठले भन्सार छलेर खसीबाख्रा ल्याएको कारण पक्राउ गर्ने खोज्दा झडप हुन पुगेको बताए । स्थानीयले सशस्त्र टोलीलाई घेरेर हतिहार खोस्ने प्रयास गरेपछि हवाई फायर गर्न बाध्य भएको उनले बताए । उनले सशस्त्रले बोकेको दुईथान हतियार खोसेपछि बच्नका लागि हवाई फायर गरेको बताए । सशस्त्र प्रहरी दुई महिनायतादेखि तस्करी नियन्त्रणमा लागेको छ । त्यही रिस पोख्न स्थानीय प्रहरीसमक्ष खनिएको हुनसक्ने उनले बताए । घटनामा सहायक हवल्दार नेत्रबहादुर बस्नेत, सुवास यादव, विक्रम भोर, डिल्लीराम दाहाललगायत सातजना प्रहरीमाथि ढुङ्गा प्रहार गरेको प्रहरीले बताएको छ । तर घाइतेको नाम भने प्रहरीले सार्वजनिक गर्न चाहेन । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमरियाले भने तस्करी गरेर ल्याएको खसी घुस्की बेसक्याम्पले रोकेपछि विवाद हुँदा ७ सेल अश्रुग्याससहित १५ राउण्ड हवाई फायर भएको बताए ।