पानवारी । विपि सुन्दर बजारमा सटर भाडा उठाउन धरान उपमहानगरपालिकाले टेण्डर गरी ठेकेदार लगाएको भन्दै बजारका व्यापारी आन्दोलित भएका छन् ।
‘हामीले रगत पसिना गरेर कमाएको रकम बिचौलियालाई कुनैपनि हालतमा नदिने बरु उपमहानगरपालिकालाई भाडा बृद्धि गरी बुझाउन सकिन्छ’ –व्यवसायी पूर्णकुमार राईले भने । शुक्रबार विपि सुन्दर बजार परिसरमा व्यापारीहरुले पत्रकार सम्मेलन गर्दै ‘विचौलिया, ठेकेदार लगाएर उपमहानगरपालिकाले आफुहरुमाथि ठूलो अन्याय गरेको’ भन्दै ‘जनताले दुःख गरेर कमाएको रगत र पसिनामा साटेको पैसा त्यत्तिकै खुवाउन’ नसकिने बताएका छन् । विपि सुन्दर बजारका व्यापारी दिकुमार कटवालले अहिलेसम्म नगरपालिकाका कर्मचारीलाई भाडा बुझाउदै आएकोमा अहिले ठेकेदार लगाएर आफुहरुलाई अन्याय गरेको बताए । उनले उपमहानगरपालिकाले ठेकेदारसँग समन्वय गरी साउनदेखि बस्नु भनेर पत्र पठाएको बताउदै ठेकेदारले आफुहरुलाई प्रति सटर २० हजार र २५ हजार प्रतिमहिना तिर्नुपर्ने भन्दै हिडेको बताए ।
व्यापारी रिता अधिकारीले बिसौ वर्षदेखि यही व्यवसाय गर्दै आएकोले अहिले आएर उपमहानगरपालिकाले उठाउन लागेको आरोप लगाएकी छन् । उनले भनिन् –‘हामी छोरी मान्छे यहाँबाट खेदाएपछि कहाँ जाने ? त्यात्रो विधि भाडा बढ्छ भने के गरी खाने ?’ सुन्दर बजारका व्यापारीहरुले सरकारले भाडा बढाउदा पनि नियमसँगत भाडा बढाउन माग गरेका छन् । ३५ सयदेखि ४६ सयसम्म भाडा तिर्दै आएकोमा अहिले एकैपटक १५/२० हजार भाडा बढाउन नपाइने बताउँदै आफ्नो माग सम्बोधन नगरे सम्बन्धित निकायमा न्याय माग्न जानुपर्ने बाध्यता आउनसक्ने व्यापारीले बताएका छन् । विपि सुन्दर बजारमा सबै स्वरोजगार मजदुरहरु भएको र जुठाभाडा माझ्ने काम गर्दै आफ्नो परिवार पाल्ने भन्दा बढी केही नाफा आर्जन नहुने उपमहानगरपालिकाले प्रत्यक्ष देख्दै आएपनि लाखौलाख कमाउनेलाई जस्तो व्यवहार नगर्न आग्रह गरेका छन् ।
धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले भने कानुनी व्यवस्था अनुरुप टेण्डर गरेको बताइन् । उनले भनिन् –‘धरान उपमहानगरपालिकाले उक्त क्षेत्र (विपि सुन्दर बजार) बाट ठूलो आम्दानी गुमाउदै आएको थियो र विधि र प्रकृयामा जे हुन्छ उपमहानगरपालिकाले त्यही गर्छ ।’
सुन्दर बजारलाई उपमहानगरपालिकाले अहिले तीन श्रेणीमा विभाजन गरी पहिलो श्रेणीका सटरबाट ४ हजार ६ सय, दोस्रो श्रेणीबाट ४ हजार २ सय र तेस्रो श्रेणीको सटरबाट ३ हजार ४ सय पचास रुपैया मासिक भाडा उठाइरहेको छ । तर यसवर्षदेखि भने उपमहानगरपालिकाले टेण्डर आह्वान गरी ठेकेदार मार्फत एकमुष्ट भाडा उठाउने भएपछि आफुहरुलाई चर्काे भाडा पर्ने भन्दै विपि सुन्दर बजारका व्यापारीहरु आन्दोलित भएका हुन् । धरान उपमहानगरपालिकाले विपि सुन्दर बजारको सटर भाडा उठाउन न्युनतम २५ लाख रुपैयामा खुलाएको टेण्डर पायोमा सप्लायर्सले २५ लाख ११ हजारमा ठेक्का पारेको छ । बजारमा रहेका ३० वटा सटरमा मेडिकल, होटल तथा कस्मेटीक लगायतका व्यापार सञ्चालनमा छन् ।