बिर्तामोड । वत्सलादेवी फाउण्डेशन मेचीनगरले दुबै मृगौला खराब भएर उपचारत् मेचीनगर–११ धाइजनका नरेन्द्र मेचेको परिवारलाई ९० हजार आर्थिक सहयोग गरेको छ । ललीतपुरको निदान अस्पतालमा डाइलोसिस गराइरहेका मेचेको मृगौला प्रत्यारोपणका लागि फाउण्डेशनले आर्थिक सहयोग गरेको हो । फाउण्डेशनले आइतबार पीडित परिवारको घरमै पुगेर फाउण्डेशनका तर्फबाट क्यान महासंघ झापा अध्यक्ष लक्ष्मी खनालले सो रकम हस्तान्तरण गरेका हुन् ।

मेचीनगर–११ का वडा अध्यक्ष सन्तोषकुमार मेचेको रोहवरमा परिवारलाई चेक हस्तान्तरण गरिएको हो । पीडित मेचेलाई उनकै श्रीमती पुर्णिमाले मृगौला दिने भएपछि प्रत्यारोपण गर्दा लाग्ने खर्चका लागि मेचे परिवारले सबैसँग सहयोगको अपेक्षा गरेका छन् ।

स्थानीयले नरेन्द्र मेचे बचाउ सहयोग समिति बनाई सहयोग जम्मा गर्दै आएका छन् । अभियानको नाममा एनआइसी एसिया बैंकमा रहेकोे खाता नम्बर सी ९८७९६१३७२३५२४०१ मा सकेको सहयोग गरिदिन संयोजक नेत्र अधिकारीले आग्रह समेत गरे । उनले मेचीनगरको प्रत्येक वडामा अभियान सञ्चालन गरिएको जनाएका छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गरिने पिडीतका छोरा सन्तोष मेचेले बताए । त्यसका लागि करिब १८ लाख खर्च लाग्ने पारिवारिक स्रोतले जनाएको छ ।