पथरीशनिश्चरे । उत्तरपूर्वी मोरङको पहाडी क्षेत्रसहितका अन्य पहाडी जिल्लाबासीको यातायात सहजता एवम् व्यवसायिक प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येको पथरी –जाँते–ज्यामिरे सडक निर्माणमा सरकारको पनि चासो बढेको छ ।

स्थानीयवासीले नीकै दुःख गरेर खनेर बनाएको सडकमा यो वर्ष प्रदेश सरकारबाट ३ करोड रुपैयाँ छुट्टिएपछि सो भेगका मानिस केही उत्साहित भएका छन् । यसमा स्थानीय नगरपालिकाले थप मद्धत गरेर सडक कालोपत्रे गर्ने अभियान अगाडि बढाउनु आवश्यक देखिएको लेटाङ ९ जाँतेका सामाजिक अगुवा सोमनाथ निरौलाले सुनाए । ‘प्रदेश सहित स्थानीय सरकारले यसलाई पुरा गर्न लागि पर्नु पर्यो, हामी पनि उत्साह थप्दै यसमा जुट्छौं ।’– उनले उत्साह भर्दै भने । पहाही क्षेत्रबाट तराई जोड्ने छोटो र पुल हाल्नु नपर्ने अवस्थाको साढे १८ किलोमिटर

 

लम्वाईको सो सडक निर्माणले आफ्नो क्षेत्रको भविष्य नै निर्माण हुने स्थानीयको ठहर छ । उत्तरदक्षिणका अन्य क्षेत्रको सडकहरु भन्दा यहाँको माटो कम पहिरो जानेखालको दर्विलो रहेको निरौलाले जनाए । उनले थपे ‘यो बाटोको उत्तरी क्षेत्रलाई थप व्यवस्थित बनाउँदै कालोपत्रे गर्न सके उत्तरी भेगको भविष्य निर्माण हुने र तल्लो भेगको व्यापार प्रवद्र्धनमा ठूलो टेवा पुग्ने छ ।’

सो सडक, ज्यामिरेबाट ६ नम्वर बुधबारेबाट धनकुटा तथा पाँचथर र इलामको सीमान चिसापानी पञ्चमी हुँदै रवि, राँकेबाट ताप्लेजुङ

 

किमाथाङ्का जोड्ने सडकको पहुँचमा पुग्छ । पहाडी क्षेत्रमा उत्पादित कृषिजन्य सामग्री तराई झार्न र तराईबाट आवश्यक उपभोग्य सामग्री पहाड उकाल्नका लागि सो सडक महत्वपूर्ण छ । त्यसखाले आवश्यकतालाई बोध गरेर संघीय सरकारमा पनि योजना पेश गरिएको भएपनि प्रदेश सरकारबाट मात्र पहिलो पटक चालु आर्थिक वर्षमा ३ करोड छुट्टिएपछि स्थानीयमा थप उत्साह भरिएको सोही क्षेत्र निवासी मोरङ १ का प्रदेश सांसद उपेन्द्रप्रसाद घिमिरेले जनाए । ‘यो सडकलाई क्रमागत नै भएपनि आवश्यक बजेट छुट्याएर कालोपत्रे गर्नका लागि प्रदेश सरकारमा पहल जारी रहन्छ ।’– उनले प्रतिवद्धताको शैलीमा भने । प्रदेश सरकारले बजेट छुट्याउनु अघि लेटाङ नगरपालिकाले सो सडकको कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको थियो । जंगल बाहेकको क्षेत्रमा पक्का ड्रेन सहित

 

कालोपत्रेका लागि २२ करोडको बजेट लाग्ने डीपीआरले देखाएको छ । ग्राभेलिङ नहुँदा वर्षाको समयमा ज्यामिरे खण्डमा भनें यातायात सञ्चालनमा केही समस्या हुने गरेको छ । जसका लागि तत्काल मर्मत गर्न र कालोपत्रेको योजना अगाडि बढाउन लेटाङ नगरपालिकाले पनि पहल गर्ने नगर प्रमुख शंकर राईले जनाए । पथरीशनिश्चरे नगरपालिकाले पनि सो सडक निर्माणमा नगरसभाको नीति कार्यक्रममा जोड दिएको छ । ‘पथरीशनिश्चरेको विकासका लागि पनि उत्तिकै महत्वपूर्ण उत्तरीमुखको सडकलाई व्यवस्थित गर्न हामी पनि लागि पर्छौं ।’– नगरप्रमुख दिलीपकुमार राईले भने । झापाको दमकबाट रवि जाने बाटो वर्षामा अवरुद्ध हुँदा पथरी –जाँते–ज्यामिरे सडक नै रोजाईको सडक बन्दै आएको छ । दमकबाट १४ किलोमिटर पश्चिमको पथरी आइपुगी सोही सडक मार्फत रवितर्फको यातायात सञ्चालन हुँदै आएको छ ।

सडकको २५ वर्षे इतिहास 

पूर्वपश्चिम मुख्य सडक अन्तर्गत पथरीशनिश्चरे नगरपालिका १ स्थित पथरी बजार उत्तर जाँतेमोडबाट ज्यामिरेसम्म साढे १८ किलोमिटर लम्वाईको सडक हो यो । पथरी, लेटाङको जाँते, मिक्लाजुङ हुँदै धनकुटा नजिक चौविसे गाउँपालिकाको ६ नम्वर बुधबारे पुग्छ । ६ नम्वर बुधबारेबाट आउने तेर्साे सडक ज्यामिरेमा जोडिन्छ । ८ किलोमिटर ३ सय मिटर जंगल क्षेत्र हुँदै जाँतेसम्म १२ किलोमिटर र त्यसभन्दा माथि ज्यामिरेसम्म साढे ६ किलोमिटर लम्वाई रहेको छ ।

०५० मा हालका प्रदेश सांसद घिमिरे जाँते गाविस अध्यक्ष भएदेखि उनको पहलमा स्थानीयलाई जुटाएर बाटो खन्न थालिएको थियो । ०५१ सालमा केन्द्र सरकारले ३ लाख रकम दिएपछि जंगल क्षेत्रमा रुख, जरा निकाल्ने काम भयो । ०५२ मा गाविसले ५ लाख लगानी गरेर नाला खन्ने काम गरियो । ०५३÷५४ र ०५४÷५५ मा गाविसले ४÷४ लाख छुट्यायो । त्यसमा तात्कालिन पथरी गाविसले १ लाख, जिल्ला विकास समितिले २ लाख गरेर ११ लाख बनाएर जाँतेको मदनचोक दक्षिण पथरीसम्म ग्राभेल गरिएको घिमिरेले वेलिविस्तार लगाए । ग्राभेल भएपछि ०५५ वैशाख १ देखि जाँतेबाट पथरीसम्म बस र ट्याक्सी सञ्चालन सुरु भयो ।

०५५÷५६ मा पुनः जाँते गाविसले ५ लाख लगाएर मदनचोक उत्तर गाविस कार्यालयसम्म ग्राभेल गर्ने काम भयो । जिविसबाट प्राप्त भएको ५ लाख रुपैयाँबाट ०५७ सालमा ज्यामिरेखण्डको सडक निर्माण थालेर ०५८ सम्पन्न भएको थियो । सो सडक मर्मतका लागि ०५६÷५७ मा जिविसले १० लाख दियो । हालसम्म १ करोड हाराहारी रकम सो बाटोमा खर्च भइसकेको छ ।

पथरीबाट ६ नम्वर बुधबारेसम्म २० वटा हाराहारीमा ट्याक्सी सञ्चालन हुँदै आएका छन् । पथरीबाट जाँतेसम्म ६ वटा वस सञ्चालित छन् ।