धरान । संघीय सरकारले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुलाउन अस्वीकार गरेको छ । यातायात व्यवस्था विभागले आइतबारदेखि देशभरका यातायात व्यवस्था कार्यालयबाट दुई तथा चारपांग्रेको लाइसेन्सका लागि आवेदन खुला गरेको थियो ।  अन्य प्रदेशमा लाइसेन्सको आवेदन खुले पनि प्रदेश २ मा भने खुलेको छैन ।

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले साउन १० गते यातायात व्यवस्था विभागलाई पत्र लेख्दै आफ्नो सीमाभित्र रहेको यातायात व्यवस्था कार्यालयहरु आफ्नो मातहतमा आएको भन्दै मन्त्रालयसँग समन्वय गर्न विभागलाई भनेको छ । प्रदेश मन्त्रालयले उक्त पत्र मुख्यमन्त्रीको कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारलाई समेत बोधार्थ दिएको छ ।