पाँचथर । नियमित गर्भवती चेकजाँच गरी बर्थिङ सेन्टरमा गएर प्रसूति गराउने सुत्केरी आमालाई सरकारले भत्ता र यातायात खर्च दिएको त सुनिएको हो । तर पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा भने भने सुत्केरी गाईलाई समेत सुत्केरी भत्ता दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २७ वटा सुत्केरी गाईका पालकलाई सुत्केरी भत्ता उपलब्ध गराइएको फाल्गुनन्द गाउँपालिका–२ का वडाअध्यक्ष बहादुरसिं नेम्बाङले बताए । मिलन केन्द्र नेपाल नामक संस्थाको साझेदारी र स्थानीय फिक्चुवाखोला सहकारी संस्थाको सहजीकरणमा प्रतिसुत्केरी गाई दुईहजार दुईसय रुपैयाँ रकम वितरण गरिएको मिलन केन्द्र नेपालका कार्यक्रम संयोजक विचारसिंह लाओतीले बताए । ब्याएको तीन महिनाभित्रका, बिमा गराइएका गाईका पालकलाई उक्त रकम हस्तान्तरण गरिएको हो । फाल्गुनन्द गाउँपालिका–२ मा गुड नेभर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ५४ वटा उन्नत जातका गाई र दुई सय ९८ वटा सुँगुर कृषकहरुलाई वितरण गरिएको मिलन केन्द्र नेपालले जनाएको छ । केन्द्रले कृषकहरुको आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सन् २०१६ सो वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लामै पहिलो पटक गाईको सुत्केरी भत्ता पाएपछि कृषकहरु उत्साहित भएका छन् । भर्खरै व्यवसायिक पशुपालनतर्फ उन्मुख भइरहेका सो वडा कृषकले गाईको समेत सुत्केरी भत्ता पाउँदा व्यवसायिक पशुपालन गर्न थप ऊर्जा मिलेको सो वडाका पशुसेवा प्राविधिक पुनम हाङ्सरुम्बाले बताइन् ।