भद्रपुर । भद्रपुर छोटी भन्सार र भन्सार सुरक्षामा खटिएका प्रहरीको मिलेमतोमा लैजाँदै गरेको डेढ लाख मूल्य बराबरको सामान कारोबारीको गेटबाट गस्ती प्रहरीले बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोलीले शनिबार अपरान्ह साढे ४ बजे भन्सारनजिकै रहेका कारोबारी सञ्जीव घोषको घरको गेटबाट सामान बरामद गरेको प्रहरीले जनाएको छ । भारतबाट दुई राँगागाडा सामान ल्याएर भन्सार गोदाममा राखी भन्सार कर्मचारीसँग मिलाएर ठेला भेनबाट तीनपोका सामान प्रहरीको अगाडिबाट घोषको घरभित्र छिराउँदै गरेको अवस्थामा गस्ती प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । बरामद गरिएको तीन पोकामा १ सय ४ थान गुम्बामा राख्ने तामा र पित्तल मिसिएको अग्लो दियोको ५७ हजार २ सय र एक पोकामा ५४ थान कपडाको ८६ हजार ५ सय साठी गरी १ लाख ४३ हजार ७ सय साठी मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरले जनाएको छ । घटना विवरणअनुसार भारतबाट मेची नदीहुँदै दुई राँगा गाडामा ल्याएको सामान भन्सार पारगराएको थियो । भारतबाट सामान ल्याउँदै गरेको अवस्थामा भारी वर्षा भएको मौका पारेर घोषका कामदारले ठेला भेनमा राखेर घोषको घरको गेट खोल्दै गरेको अवस्थामा सामान बरामद गरेको प्रहरीको भनाइ छ । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको सशस्त्रका एसपी रेशमकुमार थाक्सूले जानकारी दिए । शनिबारपनि घोषको सामान भन्सारभित्रैबाट बाहिर निस्कनु प्रहरी र कर्मचारीको मिलेमतो बिना असम्भव हुने भद्रपुरका व्यापारीको आरोप छ । घोषको यस्तो चर्तिकला प्रायः भइरहने उनीहरु बताउँछन् । कपडाको कारोबार गर्दै आएका घोषले पछिल्लो समय अन्य सामानको पनि कारोबार गर्ने गरेको यो घटनाले पुष्टि गरेको छ । प्रहरीले बरामद गरेको गुम्बाको दियो काठमाडौंमा बढी खपत हुने गरेको बुझिएको छ । भन्सार र व्यापारी घोषको घर नजिकै रहेकोले प्रायः अनुकूल मिलाएर बहुमूल्य सामान राजस्व नकाटी भन्सार कर्मचारीलाई मिलाएर लैजाने गरेको विगतको घटनाले पनि देखाएको थियो । घोषको नजरमा भन्सार कर्मचारी र प्रहरी चुइँक्क बोल्न पनि नसकेका कारण यस्तो अवैध कारोबार पटक–पटक हुने गरेको छ । भन्सारभित्रबाट यस्तो काम हुनै नसक्ने भद्रपुर भन्सार अधिकृत किरण शर्माले दाबी गरेका छन् । आफू कामविशेषले काठमाडौंमा भएकोले के भएको भन्ने विषयमा कार्यालय आएपछिमात्र स्पष्ट हुने शर्माको भनाइ छ । केही दिनअघि दुईजना कारोबारीसहित एउटा मोटर साइकल र ७० हजार मूल्य बराबरको कपडा भद्रपुरको गणेश मन्दिरछेउको भित्री बाटोबाट नेपाल प्रहरीले बरामद गरेको थियो । बरामद कपडा घोषले दाबी गरी पक्राउ परेका दुई कारोबारीलाई धरौटी बुझाएर छुटाएका थिए । त्यसैगरी तीन महिनाअघि सुनसरीको जमुवाबाट भारतीय गाडीसहित ४४ लाखको सामान र व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको थियो । सामान र पक्राउ परेका भारतीय व्यक्तिमाथि दाबी गर्दै ४४ लाख धरौटी बुझाएर घोषले झुम्का कारागारबाट छुटाएका थिए भने सामान र गाडी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा नै रहेको सो कार्यालयले जनाएको छ ।