पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं.८ स्थित केर्खा खोलामा निर्माणपछि भत्किएको पुलको मर्मत भएको छ । पुल निर्माणमा प्राविधिक, ठेकेदार र पुल निर्माण समितिको मिलेमतोमा आर्थिक चलखेल भएको समाचार प्रकाशन भएपछि पुल वडा कार्यालयले मर्मत गरी झारा टार्ने काम गरेको हो । केर्खा खोलामा सामान्य आएको बाढीले पुलको एकापट्टिको पङ्खा पुुलसँग छुट्टिएर लड्न लागेको थियो । अहिले वडा कार्यालयले ६५ हजारको लागतमा त्यो छुट्टिएको पुल र पङ्खाको बीच भागमा प्लाष्टिकको बोरामा माटो भरेर टालटुल गरेर झारा टार्ने काम गरेको हो । पानी बग्ने ठाउँमा डोजर लगाएर खोला सिधा बनाएका छन् । अहिले खोलामा बाढी आउँदा पुलको सिधा बग्ने गरेकोले पुललाई क्षति नहुने वडाध्यक्ष बाबुराम दाहाल बताउँछन् । त्यसैगरी पङ्खासँगै रहेको तारजाली भने लेदो माटोले पुरिएको छ । पुलसँगै जोडिएको पङ्खा ढल्न लागेकोले त्यो छुट्टिएको भागमा बोरा लगाएर त्यसको समाधान नहुने बताउँदै पङ्खालाई भत्काएर पुनः नयाँ बनाउनु पर्ने माग स्थानीयहरुको छ । तारजाली पनि ढलेको छ । तारजाली लगाउँदा पानीमाथि लगाएकोले बाढी आउँदा पुल एकातिर खोला एकातिर हुने स्थानीय महेन्द्र विष्टले बताए । केर्खा खोलाको पुललाई नगरपालिकाबाट आर्थिक वर्ष २०७४÷७५ मा ४० लाख बजेट विनियोजन भएपछि लम्बाइ ६ मिटर ४ सेमी, उचाइ ५ मिटर र बाटो ग्राभेल स्टिमेटअनुसार समितिले ३९ लाखमा ठेक्का शिवकुमार गुप्तालाई दिएको थियो । कुल बजेटको १५ प्रतिशत स्थानीयबाट सङ्कलन गरी जम्मा ४६ लाखमा पुल बनेको थियो । स्टिमेटमा पुलसँगै पुलदेखि पश्चिम जाने शिवजी चौकसम्म ८ सय ५० मिटर ग्राभेल गर्ने ठेक्का रहेको थियो । प्राविधिकको मिलेमतोमा पुल निर्माणसँगै ८ सय ५० मिटर सडक ग्राभेल ठेक्का लागेकोमा ६ सय ५० मात्र ग्राभेल गरिदिएका थिए । स्थानीयको उजुरीपछि नापजाँच गरेर सो ग्राभेल सडकबाट कट्टा गरी १ लाख ९३ हजार रकम कट्टा गरिदिएको थियो । बाँकी रकमले मिलन चौक जाने बाटोमा २ सय मिटर सडक ग्राभेल गरिदिएको महेन्द्र विष्टले बताए । पुल निर्माण समितिका उपाध्यक्ष देविका थापाले पुल रेखदेख गरेबापत ३० हजार आफूले लगेको बनाइन् । समितिका सदस्यहरुले पनि आफूलेभन्दा धेरै रकम लगेकोले आफूले पनि चलाएको उनले बताइन् । पुल निर्माण समितिले आफूखुशी रकम लगेको कसले खोज्ने ? पैसा बाँड्ने अनि हिसाब कागजमा मिलाई कच्चा पुल बनाएकोले अनुगमन गरिनु पर्ने स्थानीय महेन्द्र विष्ट बताउँछन् ।