पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाको पहलमा नगरको शनिश्चरे चोकमा सप्तकोशी डेभलपमेन्ट बैङ्कको शाखा आएको छ । बैङ्कका संस्थापक प्रमुख तारानाथ निरौला, कार्यकारी प्रमुख नवीन सुवेदीसहित बैङ्कका कर्मचारीहरूले आइतबार नगरपालिका प्रमुख, वडाध्यक्षहरूसँग अन्तरक्रिया गर्दै साउन १७ गते शनिश्चरेमा १४ औँ शाखा उद्घाटन हुने जनाएका छन् । संस्थापक प्रमुख निरौलाले नगरपालिका कार्यालयलाई धन्यवाद ज्ञापन गर्दै ग्रामिण क्षेत्रको विकासमा आफूहरु डटेर लाग्ने जनाए । नगर प्रमुख दिलीपकुमार राईले पथरी बजारबाहेकका लागि नगरको सो बैङ्क पहिलो शाखा भएकाले ग्रामिण क्षेत्रको विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । नगरपालिकाको पहलमा नगरको ग्रामिण क्षेत्रमा सामाजिक सुरक्षा भत्ता, कृषि कारोबारसहितका विकासका गतिविधिमा सघाउन बैङ्कको शाखा माग भएको प्रष्ट्याए । नगरपालिका कार्यालयबाट वर्षको ८ करोड हाराहारीमा सो बैङ्कमा कारोबार हुने उनले अनुमान पेश गरे । विराटनगरमा मुख्य कार्यालय रहेको बैङ्कले मोरङ, इलाम र पाँचथरमा गरी १४ ओटा शाखा सञ्चालन गरेको र अब झापा र सुनसरीमा पनि शाखा खोल्ने तयारी भइरहेको कार्यकारी प्रमुख सुवेदीले जनाए । संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत गरी ५१ करोड शेयर पुँजीमा बैङ्क खडा भएको उनले उल्लेख गरेका छन् । पथरी बजार क्षेत्रमा बाहेक नगरका अन्य कुनै ठाउँमा पनि बैङ्क नभएको अवस्थामा यस अघि कुशल बजारमा शाखारहित ग्लोबल आइएमइ बैङ्कको कारोबार सुरु भएको छ ।