पानवारी । शनिबार विदाको दिन शिवजट्टाको पानीमा रमाउनेहरुको भिडभाड थियो । शिवजट्टा पुगेका आन्तरिक पर्यटकहरु तराईको हपहपी गर्मीबाट एकैछिन भएपनि छुटकारा पाउँदा हर्षित देखिन्थे ।
धरान–१५ बाट कमला रेग्मी, ऋचा तामाङ लगायतका साथीहरु बिहानैबाट शिवजट्टामा ड्राइ पिकनिक जानको लागी तयारीमा जुटे । बिहान १० बजे शिवजट्टा पुगेका उनीहरु झरनाबाट झरेको चिसो पानीमा रमाए, खोलामा भएको दहमा डुबुल्कि मारे । उनीहरुमात्र होइन साथमा गएका नानीहरु पनि खोलाको चिसो पानीमा खुबै रमाए ।
विहानै उठेर बनाएको खाना खोलाको ढुंगामा बसेर औधि मिठो मानेर सबैजनाले खाए । ‘पानीमा डुबुल्की मारेको, झरनाबाट झरेको पानीमा रमाएको र निथ्रुक्क भिजेको ज्यानको फोटो खिचेर फेसबुकमा राखे, साच्चै रमाइलो भयो ।’– तामाङले भनिन् ।
उनीहरु मात्र होइन शिवजट्टामा विदा मनाउन सयौको संख्यामा आन्तरिक पर्यटकहरु पुगेका थिए । इटहरीबाट कलेजका साथीहरु भेला भएर शिवजट्टा पुगेका अर्काे समुह दिनभरी नै त्यहाको पानीमा खेले, र ड्राइपिकनिकसँगै बेलुका मात्रै फर्किए । पहिलेदेखि नै शिवजट्टामा आन्तरिक पर्यटकहरु पुग्ने भएपनि भेडेटार नजिक रहेको नमस्ते झरना बन्द भएपछि अहिले दैनिक शिवजट्टा जानेहरुको भिड हुन्छ । शिवजट्टामा नुहाउनकोलागी झरना मात्र नभई खोलामा धेरैवटा प्राकृतिक दहहरु छन् । जसले गर्दा धेरै भिड एकैठाउँमा नभई छरिएर मज्जाले नुहाउन सकिन्छ ।
शिवजट्टामा ड्राइ पिकनिकका मात्र नभई ४/५ जनाको समुहमा गएर त्यही पकाएर खानेहरुको संख्या पनि पछिल्लो समय बढेको छ । नजिकै खानाको व्यवस्था सहितको राम्रो होटल नभएकोले पनि आन्तरिक पर्यटकहरु आफै खानेकुरा बोकेर जाने गरेका हुन् ।
पर्यटन व्यवसायी बासुदेव बराल भन्छन् –‘मानिस सबैभन्दा बढी पानीमा रमाउँछ, त्यही भएर समुन्द्री तट, ताल तलाउ र नदिनालाको आसपासमा पर्यटन व्यवसाय फस्टाउदो छ । त्यही भएर शिवजट्टामा सुख्खा याममा पनि पानी रिजर्व गरेर राख्न सके धरानमा एउटा पर्यटन स्थल पक्का थपिन्छ ।’ अहिले नमस्ते झरना बन्द भएपछि शिवजट्टा पुग्ने पर्यटक अत्याधिक बढेको छ । भारतको सिमरवानीबाट आएका ६ जना युवाहरु शिवजट्टा आएर चिसो पानीमा भिज्न पाउँदा असाध्यै खुसी देखिन्थे । उनीहरुमध्ये एकले भने –‘हाम्रो ठाउँमा यस्तो पहाड छैन, पानी छैन यो सब हेर्न हामी यतै आउनुपर्छ ।’ अघिल्लो वर्षमा नमस्ते झरना पुगेको थियौ तर यो बेला बन्द छ रे त्यही भएर यहाँ आएको यहाँ पनि साह्रै रमाइलो रहेछ ।’ उनीहरु सिमरवानी (जोगवनीबाट २ घण्टा मोटरसाइकलको दुरी) बाटै मोटरसाइकलमा आएका उनीहरु हेलमेट लगाउनु पर्दा भने अचम्म मानिरहेका थिए । उनीहरुले नेपालमा हेलमेट लगाउनुपर्ने नियम भएकोले जोगवनीमा हेलमेट किनेको बताए ।
शिवजट्टा धार्मिक महत्व बोकेको एक तिर्थस्थल समेत हो । हिन्दुधर्मका विभिन्न धर्मग्रन्थमा उल्लेख गरिए अनुसार ‘पृथ्वीतलमा झरेकी गंगाको वेगलाई भगवान शिवको जट्टाले थामेको स्थल’ भनेर वर्णन गरेको पाइन्छ । त्यसो त प्रा.डा. सोम खतिवडाले समेत पिण्डेश्वर बाबा धामको नजिक रहेको सो तिर्थस्थल पिण्डेश्वर बाबासँगै जोडिएको बताउँछन् ।
शिवजट्टा पुग्न धरानबाट टेम्पो रिजर्व गरेर जान सकिन्छ । धेरैजसो आगन्तुक टेम्पोमा जाने गरेका छन् । धरान–भेडेटार सडकहुँदै बेसक्याम हुदै धरान–१३ स्थित श्यामभक्त पेट्रोल पम्पबाट पुर्वतर्फबाट टेम्पोमा २० मिनेटको दुरीमा पर्छ । धरानका दुई ठुला खोलामध्ये सेउतीको शिरमा रहेको छ शिवजट्टा । धरानको भानुचोकबाट करिब दुई घण्टाको पैदल दुरीमा रहेको शिवजट्टामा पैदलै जानेहरुको संख्या पनि धेरै छ ।