पथरीशनिश्चरे । बाढीले पाइप बगाएपछि झापाको दमक ३ को उत्तरी क्षेत्रका बासिन्दाहरु शुद्ध पिउने पानीको समस्यामा छन् ।

दुम्से खानेपानी योजनामा हरेक बर्ष खोलामा आउने भेल बाढीले मुहानको पाइप बगाउने र क्षति पुर्याउने गरेपछि दमक ३ को उत्तरी क्षेत्रका बासिन्दा र भूटानी शरणार्थीले खानेपानीको समस्या भोग्न बाँध्य हुनुपरेको छ । गत असारको बाढीका कारण त्यहाँका ३ वटा मध्ये २ वटा मुहानमा क्षति पुगेपछि खानेपानीको समस्या भएको दुम्से खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष हिमदल भण्डारी बताए । मुहानको फिल्टर पाइप बगाएपछि प्रतिसकेन्ड १० देखि १२ लिटर ट्याङ्कीमा जम्मा हुने पानी हाल प्रतिसेकेन्ड ४ लिटरमा झरेको छ । ट्याङ्कीमा आवश्यक पानी जम्मा हुन नसकेपछि पानीको अभाव हुन थालेको छ ।

बेलडाँगी शिविरमा रहेका भूटानी शरणार्थीहरुलाई पनि ४० प्रतिशत सुविधा दिने सर्तमा ती योजना सञ्चालनमा ल्याइएको हो । जस अन्तर्गत हालसम्म ५ सय धारा जडान भएपनि वर्षेनी वाढीले पाइप बगाउने समस्याले पिउने पानीको समस्या भोग्नु परेको स्थानीय डिकेश लामाले जनाए । उनले सुद्ध खानेपानीको आपूर्तिमा समस्या भएपछि स्थानीय खोलाको पानी खान वाध्य भएको सुनाए ।

भूटानी शरणार्थी दातृ निकाय यूएनएचसीआरको सहयोगमा विश्व लुथरन फेडरेशनले ४२ लाख, दमक नगरपालिकाले २० लाख, उपभोक्ताले १० लाखसहित पटक पटक मुहान मर्मत खर्च र पाईप विस्तारमा गरी १ करोड भन्दा बढी लगानी भइसकेको छ । तर पनि यहाँका बासिन्दाहरुले पर्याप्त र शुद्ध पानी खान पाएका छैनन् । ‘पाइप बगाएपछि खोलाको धमिलो पानी खान बाध्य हुनु परिरहेको छ ।’– दुम्सेकी सरिता राईले भनिन् ।