बिर्तामोड । बिर्तामोडको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले छैटौं बार्षिकोत्सबको अवसरमा नियमित कारोबार गर्ने ३६ जना सदस्यलाई सम्मान गरेको छ । बिषेश गरी कृषि उद्यम गरेर सफलता हासिल गरेका सदस्यलाई नगद र कृषि औजार तथा सामग्री हस्तान्तरण गरेको छ । छोटो अवधिमै उत्कृष्ट सहकारीका रुपमा दरिएको हाम्रो बचत तथा ऋण सहकारीमा ५ बर्षको अवधिमा ४ हजार ५ सय १० जना सदस्य संगठित भएका छन् । सहकारीको मेरुदण्ड शेयरपुँजीलाई बृद्धि गरी ४ करोड १७ हजार रुपैंयाँ पुर्याएको छ भने, जगेडा कोषतर्फ १ करोड ९५ लाख रुपैंयाँ जम्मा गर्न सफल भएको छ ।

सहकारीले चालु आर्थिक बर्षको असार मसान्तसम्ममा १७ करोड ९२ लाख रुपैंयाँ बचत गर्न सफल भएको छ भने संस्थाले २२ करोड ८३ लाख रुपैंयाँ ऋण लगानी गरेको संस्थाका अध्यक्ष भवानी दंगालले जानकारी दिए । झापामा ९ सयभन्दा बढी सहकारी रहेकोमा छोटो अवधिमै सदस्यहरुको जिवनस्तरमा परिवर्तन ल्याउन सकेको भन्दै बिर्तामोडका मेयर ध्रुबकुमार शिवाकोटीले संस्थाको प्रशंसा गरेका छन् ।

शिवाकोटीकै पहलमा संस्थाले खरिद गरेको ३ कठ्ठा १० धुर जग्गामा लाग्ने ७ लाख कर छुट भएको प्रति संस्थाले उनलाई धन्यवाद समेत दिएको छ । सरकारले अघि सारेको गरेको युवा स्वरोजगार कार्यक्रम समेत सो सहकारीले कार्यान्वयन गरेको छ । संस्थाले २ सय युवालाई सो कार्यक्रम मार्फत उद्यमी बनाएको संस्थाका बिभागीय प्रमुख सरोज दहालले जानकारी दिए ।

झापाका बिभिन्न स्थानमा ५ वटा सेवा केन्द्र मार्फत कारोबार सञ्चालन गरिरहेको सहकारीले चालु आर्थिक बर्षको हालसम्म २५ लाख ९० हजार मुनाफा आर्जन गरिसकेको छ । आगामी ५ बर्षका लागि पञ्चबर्षिय योजना निर्माण गरी जनउत्तरदायी कार्यक्रम सञ्चालन गरिने दहालले बताएका छन् ।