पानवारी । इलाका प्रहरी कार्यालय धरानको हाता भित्र धराने जनता आफैले व्यवस्थित हिरासत भवन बनाउने भएका छन् ।
व्यवस्थित हिरासत भवनको शिलान्यास सोमबार एक नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गरेका छन् । इलाका प्रहरी कार्यालयको हाताभित्र भएको हालको भवनबाट उत्तर पश्चिमतर्फको खाली जमिनमा बनाइने व्यस्थित हिरासत भवन बिभिन्न दाताहरुबाट आर्थिक संकलन गरी बनाइने भवन निर्माण समितिका संयोजक मिनकुमार सुब्बाले बताएका छन् ।
चार हजार बर्ग फिटमा फैलिने भवन २ तलाको हुने र त्यसमा ८ वटा कोठा सहितको पक्कि भवन बनाउन करिब ४ करोड खर्च हुने अनुमान निर्माण समितिले गरेको छ । भवनमा हरेक थुनुवाको पूर्ण विद्युतिय विवरण राख्न सकिने, शौचालय तथा स्नान गृहको उचित व्यवस्था भएको, थुनुवाहरु भाग्न र उम्कन नसक्ने गरी सुरक्षा व्यवस्था गरिएको, थुनुवाहरुलाई सहज बसाई व्यवस्थान भएको तथा थुनुवाको शारिरिक बनावट, अपराधको प्रकृति, सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएकाहरुलाई वर्गिकरण गरी छुट्टा छुट्टै बस्ने सुविधा हुने निर्माण समितिले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानमा सोमबार भएको भवन शिलान्यास कार्यक्रममा बोल्दै संयोजक सुब्बाले धराने जनता, धरानबाट वैदेशिक रोजगारमा गएका धरानबासी तथा धरान उपमहानगरपालिका र सरकारको समेत सहभागीतामा व्यवस्थित हिरासत भवन बन्ने बताए । कार्यक्रममा प्रमुख अतिथी मन्त्री हिक्मत कार्कीले धराने जनताले यस अघिदेखि नै जनसहभागिताबाट धेरै वटा योजना सम्पन्न गरेकोले सरकारले सहयोग नगरे पनि जनता आफैले बनाउन सक्षम रहेको बताए । उनले भने –‘धरानका जनताले भवन बनाउन मात्र होइन यो भवन बनाएर फेरी अर्काे कुनै भवन बनाउन पुग्ने पैसा संकलन गर्छन् भन्ने विश्वास छ ।’ उनले धरान जनसहभागिता जुटाएर विकास गर्ने शहर भनेर देशभरी प्रतिष्ठित रहेको र अन्य सबै सहरलाई धरानले विकास गर्न सिकाएको बताए ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले आफु निरंकुश पञ्चायत शासन विरुद्ध तथा राजनीतिक परिवर्तनका लागी लड्दा पटक पटक हिरासतमा कष्टपूर्ण जीवन बिताएको स्मरण गर्दै व्यवस्थित हिरासत बन्न लाग्दा खुसी व्यक्त गरे । उनले धरानमा नै प्रदेश नं. १ को नमुनाको रुपमा रहने आसरा सुधार केन्द्र निर्माणको अन्तिम चरणमा रहेको भन्दै धरानमा नै व्यवस्थित हिरासत बन्न लाग्नु धरानेको लागी खुसीको कुरा भएको बताए । उनले एकतले भवनको फण्डिसनमा धेरै खर्च गरेको देखिएको बताउदै भवनको निर्माण समितिलाई मितव्ययिता अपनाउन अनुरोध समेत गरेका थिए ।
धरान उपमहनगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले हिरासत निर्माणको लागी सम्पूर्ण धराने जनतालाई सहयोग गर्न अपिल गर्दै भवन निर्माणमा उपमहानगरपालिकाले समेत सकेको सहयोग गर्ने बताइन् । प्रदेश नं. एकका प्रहरी प्रमुख डिआइजी केदार रिजालले सिमित स्रोत साधनकाबीच प्रहरीले जनतालाई सेवा गरिरहेको भन्दै प्रहरी जनताको सेवामा सिमित स्रोत साधनलाई अधिकतम उपयोग गरिरहेको बताए । भवन निर्माण समितिका सदस्य सचिव डिएसपी रामेश्वर पौडेलले व्यवस्थित हिरासत भवन बनेपछि काम गर्न सजिलो हुने र अन्य प्रहरी कार्यालयको लागी नमुुना हुने बताए ।
कार्यक्रममै उठ्यो साढे पाँचलाख बढी, ३५ लाख बढीको बचनबद्धता
भवन शिलान्यास कार्यक्रममा नै ५ लाख ६९ हजार ४ सय ४४ रुपैया रकम संकलन भएको छ । कार्यक्रममा गंगा कालिकोटे, गोपाल श्रेष्ठ र रमेश श्रेष्ठले जनही १ लाख ११ हजार १ सय ११ रुपैया चेक मार्फत् भवन निर्माणको लागि संयोजक मिनकुमार सुब्बालाई हस्तान्तरण गरेका थिए । त्यस्तै एसडब्लु लामिछानेले रु १ लाखको चेक हस्तान्तरण गरे भने माया राईले १ लाख ११ हजार १ सय ११ रुपैया र दिलिप श्रेष्ठले रु २५ हजार नगद प्रदान गरका थिए । कार्यक्रममा विभिन्न दाताहरुले ३५ लाखभन्दा बढी रकम प्रदान गर्ने बचनबद्धता गरेको भवन निर्माण समितिकी कोषाध्यक्ष सुनिता केसीले जानकारी दिएकी थिइन् ।