पथरी । १ नम्बर प्रदेशका सांसद् उपेन्द्र घिमिरेको गाउँ मोरङको जाँतेमा अवैध खोला उत्खनन् भैरहँदा पनि सम्बन्धित निकाय भने मौन बस्दै आएका छन् । लेटाङ नगरपालिकाभित्र पर्ने तेलीखोला र मोरङ्गी खोलाबाट ढुङ्गा, गिट्टी, बालुवाजन्य उत्खनन् गरी अवैधरूपमा दिनदहाडै निकासी गर्ने गरेको हो । जिल्ला समन्वय समितिको खोला ठेक्काकै समयमा क्षेत्र नं. १ ‘ख’ का सांसद् उपेन्द्र घिमिरे, ‘क’ का सांसद् कुशल साम्बा र मोरङ क्षेत्र नं. ३ ‘क’ का सांसद् सूयर्माराज राईले यसअघि खोला दोहन भएको भन्दै प्रदेश सरकारबाट रोकेका थिए । असार १ गतेदेखि भदौ मसान्तसम्म तीन महिना खोला उत्खनन् बन्द रहन्छ । तर अहिले ठेक्का समाप्त भएको डेढ महिना बित्न लाग्दासमेत सांसद्कै गाउँ लेटाङ–९ जाँतेमा पर्ने तेलीखोलामा स्काभेटर प्रयोग गरी दैनिक गिट्टी नकासी हुने गरे पनि सांसद् घिमिरे चुपचाप छन् । उनले भने, ‘व्यवसायीले जिल्ला समन्वय समितिबाट उत्खनन् गर्ने सिफारिस पत्र ल्याएको देखाउँछ । तर कति निकाल्ने, कहिलेसम्म निकाल्ने र कसले रेखदेख गर्ने ? साथै मापन गर्ने केही आधार नभएकोले मनपरी गरिराखेको छ । यसलाई हामी भोलि बन्द गर्नेछौँ ।’ जाँतेका व्यवसायी जीवन रिजालले खोलामा स्काभेटर राखेरै उत्खनन् गरी दैनिक आधा दर्जन टिपरबाट गिट्टी निकासा गरिरहेका छन् । जिल्ला समन्वय समिति मोरङबाट ८० टिपर खोलाजन्य वस्तु निकाल्ने इजाजत पाएको थियो तर जीवन रिजालले १६ सय टिपरभन्दा बढी गिट्टी निकालेको लेटाङ–९ का वडासदस्य इन्द्र ढकालले बताए । उनले भने, ‘अवैध खोला उत्खनन् बारे वडा नै बदनाम भएकोले हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । उत्खनन् कार्य तत्काल रोक्नुपर्छ ।’ स्थानीय गणेश भण्डारीले खोलाजन्य पदार्थ अवैधरूपमा निकासी भैरहेकोले यसलाई जनप्रतिनिधि र सम्बन्धित निकायले रोक्नुपर्ने बताए । त्यसैगरी अर्का खोलाछेउमा बसोबास गर्ने स्थानीय नवराज ढकालका अनुसार सरकारले उत्खनन् रोके पनि यहाँ रोकिएको छैन । दैनिक टिपर कुदेर पथरी–जाँते सडकमा खाल्डाखुल्डी भएकोले सडकमा हिँडिनसक्नु भएको उनले बताए । खोला ठेक्का सकिएको बेला जाँते आसपासका साना ढुङ्गे व्यवसायीहरुले बिहान र बेलुकी खोलाबाट ढुङ्गा, गिट्टी ल्याएर घर–घरमा स्टक गर्ने गरेका छन् । यसै क्रममा सोमबार बिहानै इलाका प्रहरी कार्यालय लेटाङले दुईवटा ट्याक्टर ढुङ्गासहित पक्राउ गरेको छ । प्रहरीले लेटाङ–९ मोरङ्गी खोलाबाट कृष्णराज राईको को. २ त ६९३१ नम्बरको ट्याक्टर र तेलीखोलाबाट यादव निरौलाको को. २ त ९३९६ नम्बरको ट्याक्टर ढुङ्गासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय लेटाङका सइ तीर्थ कट्टेलले बताए । खोलामा ढुङ्गा तस्करी गरेको खबर आएपछि पक्राउ गरेको सइ कट्टेलले बताए । यस विषयमा लेटाङ नगरपालिकाका उपमेयर कृष्णकुमारी पोख्रेलले कतिले स्टकको माल भनेर ट्याक्टर, टिपरबाट लाने गरेको बताइन् । ‘जिल्ला समन्वय समितिले स्टकको माल उठाउन पुर्जी कति दिएको र कति लगेको भनेर हेर्ने सम्बन्धित व्यक्ति नभएर पनि हेर्न गाह्रो हुन्छ, त्यसले गर्दा समस्या हुने गरेको छ । उनीहरुले ल्याउने समय नमिलेर हामीले नभेटेको पनि हुन सक्छ । यस्तालाई कारबाही गर्नुपर्छ’–उनले भनिन् ।