विराटनगर । एक तोला सुनको सिक्री निलेका एक युवाले तीन दिनपछि सिक्री दिसा गरेका छन् । सुन किन्ने बहानामा विराटनगर–९ स्थित सञ्चालनमा रहेको राठी ज्वेलरी हाउसबाट सुनको सिक्री निलेका इटहरी–२ का ३१ वर्षीय सुरजकुमार नेपालले आइतबार बिहान सिक्री दिसा गरेका हुन् । चोरी गर्ने उद्देश्यले सुन निलेको थाहा पाएपछि मोरङ प्रहरीले नेपाललाई शुक्रबार साँझ पक्राउ गरेको थियो । पक्राउलगत्तै प्रहरीले कोशी अञ्चल अस्पतालमा भर्ना गरेको थियो । नेपाललाई हेर्न मोरङ प्रहरीबाट खटिएको ३–४ जना प्रहरीको टोली दिसा पर्खेर बसिरहेको थियो । आइतबार बिहान ८ बजेट सुन दिसा गरेपछि उनलाई सोही दिन चोरी अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान शुरु गरेको मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । नेपालले राठी ज्वेलरी हाउसबाट सिक्री किन्ने बहानामा सक्कली सुनको सिक्री निलेर नक्कली पसलेलाई बुझाएका थिए । नक्कली सुन बुझाएको भन्दै विवाद बढेपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । लगत्तै वडा प्रहरी कार्यालय ‘ख’ ले खानतलासी गर्दा नेपालको साथमा सिक्री नभेटेपछि निलेको आशङ्कामा अस्पताल पु¥याएर एक्स–रे गराएको थियो । एक्स–रे गराउँदा नेपालको पेटमा सिक्री रहेको पत्ता लागेपछि अस्पताल भर्ना गरिएको थियो ।