बेलबारी । मोरङको बेलबारीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ३७ पिन्ट रगत सङ्कलन भएको छ । वाइसिएल नेपाल र युवा सङ्घ नेपालको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा स्थानीय युवाहरूले रगत दान गरेका थिए । ‘विपद्मा युवा’ भन्ने मुख्य नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य गुरू बरालले उद्घाटन गरेका थिए । १ नम्बर प्रदेशमै रगतको अभाव भएपछि मोरङका युवा सङ्गठनहरुले कार्यक्रमको आयोजना गरेको बताएका छन् । कार्यक्रममा एमाले नेता ऋषिकेष पोख्रेल, युवा नेता पूर्ण भुजेल, रविन थापा, कर्ण पुलामी मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई बेलबारी नगरका युवा सङ्गठनद्वयले संयोजन गरेका थिए ।