पानवारी । भूमाफियाहरुले सरकारी जमिन अतिक्रमण गरी सुकुम्बासी बस्ती बसाएका छन् ।
जमिन अतिक्रमण गरेको थाहा पाएपछि स्थानिय सरकारले बस्ती हटाउँदै दुई जनालाई नियन्त्रणमा लिएको छ । धरान–१७ डाडा घोपा नजिकै कालापानी देवीथान उत्तरपट्टिी रहेको सर्दु खोलाको बगरमा रातारात प्लटिङ गरी बस्ती बसाल्न सुरु गरिएको थियो । बस्तीमा एक सय ७७ वटा घडेरी बनाई मंगलबार दिउँसो त्यस बस्तीमा घडेरी रोकेकाहरुको समिति समेत गठन गरिएको थियो । प्रहरीले सोही समितिका उपाध्यक्ष जगतबहादुर विक र सचिव रुद्रमणी विकलाई नियन्त्रणमा लिएको छ भने अध्यक्ष भने फरार छन् । उनीहरुलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।


एयरपोर्ट निर्माण गर्ने जग्गासँगै रहेको सो बगरलाई आवश्यक परे एयरपोर्टको लागी नै प्रयोगमा ल्याइने भन्दै धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले सरकारी जग्गा कसैले कब्जा गर्न नपाउने बताइन् । उनले धरान उपमहानगर भित्र २०७२ सालमा उठाएको लगतमा करिब १२ हजार सुकुम्बासी रहेको भन्दै त्यस यता कहि सुकुम्बासी बस्ती नबसेको दाबी गरिन् । उनले लगतमा भएका सुकुम्बासीलाई उपमहानगरपालिकाले उचित व्यवस्थापन गरी नगरबासी बनाइछाड्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । उनले जथाभावी ढंगले सरकारी जमिन कब्जा गरी बस्नेलाई कानुनी दायरामा ल्याएर कारवाही गर्ने चेतावनी समेत दिएकी छन् ।

बगरलाई प्लटिङ गरेर विभिन्न वहानामा ‘पैसा उठाउन पल्किएका’ भूमाफियाहरुले सम्बन्धित निकायको ध्यान मोड्न सोही बस्तीमा बस्न लागेकालाई जम्मा गरी एक समिति गठन गरेको स्रोतले बताएको छ । मंगलबार सो जमिन बसाउने भन्दै एक सय ७७ जनालाई भेलापारी एक समिति गठन गरिएको थियो । सो भेलाले एक सय ७७ जनालाई दामासाही हिसाबले बराबरी जमिन बाड्ने भनी निर्णय गरेको बुझिएको छ । मंगलबार नै जग्गालाई प्लटिङ गरी दुई वटा बाटो समेत छुट्याइ सकिएको थियो भने घर टहरा बनाउनका लागी निर्माण सामाग्रीहरु समेत ओसार्न थालिएको थियो ।

एक हप्ता अघिदेखि सो क्षेत्रमा माफियाहरुले चलखेल गरी बस्ती बसाउन खोजेका थिए । धरान उपमहानगरपालिकाले धरानका तीन ठूला खोला सर्दु, सेउती र सेहरा खोलामा करिडोर बनाई हरितमार्ग र पार्क निर्माण गर्ने अवधारणा तयार गरेको छ । कार्यवाहक मेयर भण्डारीले भनिन्–‘विशेष गरी स्व. मेयर तारा सुब्बाले खोला किनारलाई करिडोर बनाउँदै जेष्ठ नागरिकका लागी पार्क र बालबालिकाको लागी खेल मैदान निर्माण गर्ने योजना बनाउनु भएको थियो ।’

खोला किनार मात्र नभई सरकारी जग्गा अतिक्रमण गर्न कहि पनि पाइदैन भन्दै भण्डारीले अतिक्रमण गर्ने जो कोही भएपनि कानुनी कारवाहीको दायरामा ल्याउने बताइन् ।
