दुहबी (सुनसरी) । दुहबी नगरपालिका वडानम्बर ९ को विष्णु माध्यमिक विद्यालयको जग्गा टाठाबाठाले अतिक्रमण गर्न थालेका छन् । विद्यालय व्यवस्थापन तथा प्रशासनको कमजोरीका कारण टाठाबाठाले विद्यालयको जग्गा अतिक्रमण गर्न थालेका हुन् । विद्यालयको सरकारी जग्गा किनबेच समेत हुने गरेको पाइएको छ । विद्यालयको २० बिगाहाभन्दा बढी जग्गा छ । केही समययता विद्यालयको जग्गामा टाठाबाठाले आँखा गाड्न थालेका छन् । २२६ कित्तानम्बर रहेको १८ कठ्ठा ५ धुर विद्यालयको जग्गा लामो समयदेखि हड्प्दै आएका भए पनि विद्यालयले आफ्नो जग्गामा बसेको बस्ती हटाउन कुनै पहल थालेको छैन । स्थानीयबासी फिदा हुसैनले विद्यालयको जग्गा अतिक्रमण बढेको बताए । विद्यालयको जग्गा धेरै भए पनि संरक्षणको अभावमा जग्गा अतिक्रमण भइरहेको उनी बताउँछन् । विद्यालयको जग्गा अतिक्रमण गरी बसेका राजु तामाङले उक्त घरजग्गा ठूली राजवंशीलाई तीन लाख रुपैयाँमा बिक्री गरेका छन् । राजवंशीले आफूले तीन लाखमा किनेको भए पनि आफूले एकलाख ५० हजार रुपैयाँमात्र दिएको बताइन् । उनले भनिन्, ‘१५ वर्षदेखि १५ सय भाडा तिरेर बस्दै आएकाले आफैले ३ लाखमा किन्ने सहमति भएको छ । धनीपुर्जा केही आउँदैन भनेका छन् ।’ यता विद्यालयको जग्गा बिक्री गर्न लागेको राजुको आमा मखमली तामाङले आफूहरू ३० वर्षदेखि यहाँ बस्दै आएको र आफू बसेर बाँकी जग्गामा निर्मित घर तीनलाखमा बिक्री गर्ने सहमति बनेको बताइन् । उनले भनिन्, ‘हामीले यो जग्गा ऐलानी भनेको हो, अहिले विद्यालयको भन्छन् खै के हो ?’ उनी मात्र हैन, अन्यले पनि विद्यालयको जग्गा किनबेच गरिरहेको विद्यालयका प्रतिनिधि आफै पनि स्वीकार्छन् । तर पनि नियन्त्रण गर्न सकिरहेका छैनन् । विद्यालयको जग्गामा सर्वसाधारणको अतिक्रमण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तरिकचन्द्र सरदारले स्वीकार गरे । अहिले विद्यालयको जग्गा अतिक्रमण बढ्दै गएकाले विद्यालयको जग्गा संरक्षण गर्ने उनी बताउँछन् । पहिलादेखि नै जग्गा अतिक्रमण भएको कारण अहिले आफूहरुले खोज्न थालेको उनले बताए । विद्यालयका प्रधानाध्यापक पुष्पबहादुर कार्कीले विद्यालयको जग्गा लामो समयदेखि स्थानीयले अतिक्रमण गर्दै आएको बताए । विद्यालयको १८ कठ्ठा ५ धुरमा सर्वसाधारण बसेको र बाँकी १ बिगाहा १२ कठ्ठा १२ धुर जग्गा स्थानीय सत्यनारायण चौधरीलाई भाडामा दिए पनि हालसम्म भाडा नदिई उल्टै चौधरीले विद्यालयविरुद्ध मुद्दा हालेका छन् । धनी विद्यालयको थोत्रा भवन २० बिगाहाभन्दा बढी जमिन भएको विष्णु मावि लथालिङ्ग अवस्थामा चल्दै आएको छ । २०१६ सालमा निर्माण भएका भवनहरु चुहिन थालेका छन् । पक्की भवनहरू चुहिने भएका छन् भने टिनको भवनहरू थोत्रा भइसकेका छन् । विद्यालयको अवस्था नाजुक भइरहे पनि विद्यालय व्यवस्थापन समितिले भने भवन मर्मत तथा भवन निर्माणमा ध्यान दिएको छैन । विद्यालय भवनक्षेत्र अस्त–व्यस्त छ । विद्यालयको जग्गा गौचरणमा परिणत हुँदै गएको स्थानीयबासी हसिया खातुनले बताइन् । विद्यालयमा पानी तथा घाम भित्रै पस्ने तथा विद्यालय परिसरमा गाईवस्तु चर्ने गरेको उनको भनाइ छ । स्थानीयका गाईवस्तु विद्यालयपरिसरमा आउने गरेको कारण समस्या हुँदै आएको उनले बताइन् । विद्यालयमा विद्यार्थी पढिरहेकै समयमा पनि गाईवस्तु विद्यालयपरिसरमा आउने गरेको उनी बताउँछिन् । विद्यालयका प्रधानाध्यापक पुष्पबहादुर कार्कीले पनि स्थानीयले हेपेर विद्यालयभित्रै गाईवस्तु छाड्ने गरेको बताए । गाईवस्तु देखाउँदै कार्कीले भने हेर्नुहोस् न दर्जनौं गाईवस्तु छन् । विद्यालयले राम्ररी वालसमेत लाउन सकेको छैन । विद्यालय परिसरमा ३ बिगाहा जमिन छ । तर जग्गा संरक्षण हुन नसक्दा वर्षेनी जग्गा अतिक्रमण बढेको विद्यालयले जनाएको छ । विद्यालयका पाँच बिगाहा जग्गा रमपमलाई, ५ बिगाहा टिएमटी रडलगायत स्थानीयलाई भाडामा दिएको प्रअ कार्कीले बताए ।