रङ्गेली । विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालयले बुधबार देखि आफ्ना सम्पूर्ण काम कारबाही बन्द गरेको जनाएको छ । कार्यालयले अबदेखिको काम–कारबाही दूतावासको काठमाडौं कार्यालयबाट हुने जनाएको छ । भारतीय दूतावासको विराटनगर सम्पर्क कार्यालयका प्रमुख निरज जयसवालले बुधबारदेखि सम्पर्क कार्यालय बन्द गरेर भारतीय झण्डा हटाइएको जानकारी दिए । उनले बुधबारदेखि कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा बन्द भए पनि कार्यालयका सामग्री काठमाडांै लैजान र कर्मचारीको व्यवस्थापन गर्न अझै दुई हप्ता लाग्ने बताए । दुई हप्तामा विराटनगर कार्यालयमा रहेका कर्मचारी भारत फिर्ता भइसक्ने र आफ्नो दूतावासको काठमाडौं कार्यालयमा सरुवा भएको बताए । उनले भारत सरकारको सहयोगमा एक नम्बर प्रदेशमा जारी रहेका विकास निर्माणका काम अब दूतावसको काठमाडौं कार्यालयले हेर्ने बताए । २०६४ सालमा कोशी कटानपछि पूर्व क्षेत्रका उद्योगी तथा व्यापारीलाई सहयोग पु¥याउने उद्देश्यले विराटनगरमा दूतावासको सम्पर्क कार्यालय स्थापना भएको थियो । कटान भएको कोशी बाँध निर्माण भइसक्दा पनि सम्पर्क कार्यालय नहटेको भन्दै सर्वत्र विरोध भएको थियो । नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले विराटनगरको सम्पर्क कार्यालय नहटाएको भन्दै केही महिना अघि बम विस्फोट गराएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विराटनगर दूतावासको सम्पर्क कार्यालय हटाउने सहमाति भएको थियो । सोही निर्णयबमोजिम बुधबारदेखि पूर्णरूपमा सम्पर्क कार्यालय बन्द भएको छ ।