भद्रपुर।  नेपालमा प्रतिबन्धित भारतीय चिट्ठाको ओसार–पसारमा कारोबारीले बालबालिकालाई प्रयोग गराउन थालेका छन् । झापाको भद्रपुर, काँकडभिट्टा लगायतका बजारमा भारतको बङ्गाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित चिट्ठा बिक्रीमा बालबालिकालाई संलग्न गराएको पुष्टि भएको छ । सीमा क्षेत्रमा खटिएका प्रहरीले उमेर पुगेका मानिसलाई निगरानीमा राखेपछि पछिल्लो समय साना केटाकेटीलाई माध्यम बनाई चिट्ठा नेपाल भित्रिन थालेको हो । भद्रपुर क्षेत्रमा प्रहरीले भारतीय चिट्ठा व्यापारीलाई पटक–पटक पक्राउ गरेपछि कारोबारीले बालबालिका प्रयोग गराउन थालेका छन् । चिट्ठाको विषयमा सञ्चार माध्याममा समाचार प्रकाशित भएसँगै कारोबारीले नयाँ तरिका अपनाएको पाइएको छ । यसैक्रममा वडा प्रहरी र सशस्त्र प्रहरी भद्रपुरको संयुक्त चेकजाँच टोलीले आइतबार साँझ भद्रपुरस्थित मेची पुलबाट भारत दार्जेलिङ् बिनाबारीका १४ वर्षीय मोहमद् फुलोको साथबाट २५ ठेली भारतीय चिट्ठा बरामद गरेपछि यस्तो पुष्टि भएको हो । पक्राउ परेका बालकले भद्रपुर बजारमा लैजाने गरेको बताएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जनाए । चिट्ठासहित बालक पक्राउ परेपछि विभिन्न क्षेत्रबाट प्रहरीलाई दबाव आएको बुझिएको छ । घटनालगत्तै बालकलाई छोडिदिनु भन्दै नेता तथा कार्यकर्ताले दबाव दिन थालेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले यसअघि आधा दर्जनभन्दा बढी भारतीय चिट्ठा बिक्री गर्ने भारतीय नागरिलाई पक्राउ गरी कारबाही गसिकेको भएपनि यो कारोबार नियन्त्रणमा प्रहरी असफल बनिरहेको विभिन्न घटनाक्रमले देखाएको छ । बालबालिकाले चिट्ठा भित्राउने र कारोबारी भद्रपुरमा बसेर चिट्ठा कटाउने गरेको बुझिएको छ । बरामद चिट्ठाको मूल्य चारहजार भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । नाबालक भएकाले सम्झाएर आइन्दादेखि यस्तो नगर्ने कागज गराएर छाडिने झापाक एसपी विष्णुकुमार केसीले बताए । बिक्री वितरणको बारेमा कसैले उजुर नगरेसम्म मुद्दा चलाउन नपाइने एसपी केसीको भनाइ छ । प्रत्यक्षदर्शीका अनुसार चिट्ठा बेच्ने भारतीय नागरिकहरू लुकिछिपी पसल–पसलमा गएर तथा चिट्ठा खेल्ने सम्बन्धित व्यक्तिलाई नै भेटेर सुटुक्क चिट्ठा बिक्री गर्ने गरेको बताउँछन् । प्रहरीको निगरानी बढेसँगै भारतबाट खुलेआम रूपमा चिट्ठा बिक्री गर्न नेपाल नआए पनि नेपालका चिट्ठामा लत बसिसकेकाहरूको अनुरोधमा लुकाई–छिपाई भारतीय चिट्ठा नेपाल भित्रने गरेको छ । मुख्यगरी झापाको सदरमुकाम भद्रपुर र चन्द्रगढीमा बढी मात्रामा भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ । भद्रपुरको मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास, कामेश्वर मार्केट, भाँडा पसलजस्ता स्थानमा भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ  । पक्राउ परेका व्यक्तिहरू क्यारियर मात्र भएको र खेल्नेहरू नेपालमै प्रशस्त भएकाले उनीहरूलाई प्रहरीले छुन पनि नसक्ने स्थानीयको भनाइ छ  । भद्रपुरमा भारतीय चिट्ठा खेल्ने गिरोह नै छ । उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही नगरेसम्म भद्रपुरमा भारतीय चिट्ठाको धन्दा बन्द नहुने केही व्यापारी बताउँछन् । पहिला ५ लाख पर्ने चिट्ठा, १० लाख, २५ लाख हुँदै अहिले ५० लाख पुगेको उनिहरु बताउँछन् । चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन नपाउने साथै ६ महिनासम्म कैद वा दुवै सजाय हुने स्पष्ट उल्लेख गरिएको छ ।