इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयले वार्षिक कामको समीक्षा गर्दै सार्वजनिक सुनुवाइ गरेको छ । सुनुवाइमा स्थानीयले गतवर्ष बाढीका कारण धेरै भौतिक क्षति भएको क्षेत्रका बासिन्दालाई पुनःस्थापन गर्न समस्या रहेको गुनासो गरे । वडाबासीका प्रश्नहरूको जवाफ दिँदै वडा अध्यक्ष बालकृष्ण विष्टले भौतिक पूर्वाधारको थोरै बजेटले सबै वडाबासीको अपेक्षा पूरा हुन नसेको बताए । उनले आगामी आर्थिक वर्षबाट वडाको बजेट बढ्ने भन्दै सबै वडामा कालोपत्रे, ग्राभेल र ड्रेन पुग्ने बताए । वडाकै समस्याको रूपमा रहेको बुढीखोला नियन्त्रणबारे स्थानीयले गुनासो गरेपछि वडाअध्यक्ष विष्टले नदी नियन्त्रणमा नेपाल सरकारले २ करोड ८ लाखमा टेण्डर आह्वान गरी काम गरिरहेको बताए । वडाका दुई सार्वजनिक विद्यालयलाई नमुना विद्यालय बनाउन काम सुरु भएको वडाअध्यक्ष विष्टले जानकारी दिए । स्थानीय सरस्वती माविमा चाँडै सीसी क्यामेरा जडान गर्ने बताए । सोही विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन स्वरुप साइकल प्रदान गरिएको थियो । सुनुवाइमा भौतिक पूर्वाधार विकास समिति संयोजक सूर्य थापा, शिक्षा स्वास्थ्य तथा खेलकुद समिति संयोजक बाबुराम नेपाल र लक्षित वर्ग तथा महिला बालबालिका समितिकी निर्मला बिकले एक आर्थिक वर्षमा गरिएका कामको वडाबासीलाई जानकारी गराएका थिए । वडा कार्यालयले गरेका कामको समीक्षा गर्दै स्थानीयले कमजोरी औँल्याए । वडाबासीले बुढिखोला नियन्त्रणमा भएका पहल, प्रदान हुँदै आएका सेवा सुविधामा सबैलाई समेट्नुपर्ने भन्दै जिज्ञासा राखेका थिए ।