इटहरी । नेपाल विद्यार्थी सङ्घ जनता बहुमुखी क्याम्पस इकाईको १८ औँ अधिवेशनले बुधबार सहदेव काफ्लेको सभापतित्वमा ५१ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । सभापतिको लागि सहदेव काफ्ले, केशव न्यौपाने, शाहिल आचार्य र तीर्थराज नेपालले उमेदवारी दिएका थिए । अन्यलाई विभिन्न जिम्मेवारी दिएपछि काफ्ले सर्वसम्मत सभापतिमा चयन भएका हुन् । नेवि सङ्घ केन्द्रीय उपाध्यक्ष विकास केसीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सङ्गठन विस्तार गर्दै आउने स्ववियु निर्वाचनमा नेवि सङ्घलाई विजयी हासिल गराउन वातावरण तयार पर्ने निर्णय गरेको छ । नेवि सङ्घले एक लाखको अक्षयकोष स्थापना गरेको छ । पूर्व इकाई सभापति विज्ञान राईको नेतृत्वमा सङ्कलित रकम क्याम्पस प्रमुख भोजराज श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । उक्त रकम गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक क्रियाकलापमा खर्च गरिने बताइएको छ । राईले विद्यार्थीलाई उत्साह जगाउन अक्षयकोष स्थापना गरेको जनाए । कार्यक्रममा स्ववियु निर्वाचनमा नेवि सङ्घ तर्फबाट विजयी सचिव विनोद कोइराला तथा सदस्य राधा चौधरी, सञ्जय मगर र समानुपातिक सदस्य मिलम दाहाल र रुद्ध भट्टराईलाई सम्मान गरेको इकाईका पूर्व सभापति प्रमोद भट्टराईले जनाए ।