रङ्गेली । विराटनगर महानगरपालिकालाई हरियाली शहर बनाउन बिरुवा रोप्ने अभियान शुरु गरेको छ । महानगरपालिकाले स्वच्छ, सुन्दर, हरियाली, सफा र सभ्य शहर विराटनगर भन्ने नारा सहित वृक्षरोपण अभियान थालेको हो । बुधबार महानगरका मेयर भीम पराजुलीले वडा नं. १० मा वृक्षरोपण गरी अभियानको शुभारम्भ गरे । नालीसहित कालोपत्रे भएको सडकछेउमा वृक्षरोपण गरिने महानगरले जानकारी दिएको छ । महानगर क्षेत्रमा अहिले १७ सय ५० बिरुवा रोप्न लागिएको मेयर पराजुलीले जानकारी दिए । उनले विराटनगरलाई हरित नगरीका रूपमा विकास गरिने बताए । नगरलाई सफा, सुन्दर बनाउन सरसफाइ र वृक्षरोपण कार्यक्रमले निरन्तरता पाउने बताए । वृक्षरोपण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल, वडा १० का वडाध्यक्ष माधवराज वाग्ले, महानगर वतावरण शाखा अधिकृत अनिता न्यौपाने लगायतको सहभागिता रहेको थियो ।