पानवारी ।  मारवाडी सेवा समिति धरानले १५ वर्षदेखि पिण्डेश्वरमा जल चढाउन आउने भक्तजनलाई निःशुल्क भोजन गराउँदै आएको छ । चतराबाट कोशी नदीको पवित्र जल ल्याएर पिण्डेश्वर बाबाधाममा चढाउने भक्तजनलाई पिण्डेश्वर मन्दिर अगाडि समितिले प्रत्येक साउने सोमबार निःशुल्क भोजन गराउँदै आएको छ । जल चढाउन साउने सोमबारका दिन सधैँ भक्तजनको भिड लाग्ने गर्दछ । पूर्वका मात्रै नभई पश्चिम नेपाल तथा भारतीय तीर्थयात्रीसमेत साउनको सोमबार जल चढाउन पिण्डेश्वर आउने गर्दछन् । पिण्डेश्वरमा जल चढाउन आउँदा तिर्थालु भक्तजन भोकै व्रत बसेर जल चढाउने गर्दछन् । टाढा–टाढाबाट आउने भक्तजन जल चढाइसकेपछि भोकाउने र खाना खानको लागि कतिजनासँग पैसा नहुने र त्यसबेला होटलको समेत राम्रो व्यवस्था नभएकाले मारवाडी सेवा समितिले निःशुल्क खाना खुवाउन सुरु गरेको बताउँछन् समितिका अध्यक्ष अनिल अग्रवाल । उनले भने – ‘१५ वर्षदेखि निरन्तर हामी प्रत्येक वर्ष साउने सोमबार भक्तजनलाई निःशुल्क खाना खुवाउँदै आएका छौँ ।’ उनका अनुसार निःशुल्क खाना खुवाउँदा अघिल्लो हप्ता मात्रै ४ बोरा चिउरा, १०० केजी आटा र ४ सिलिण्डर ग्यास सकिएको छ । मारवाडी समाजका अगुवा चुनिलाल अग्रवालको अगुवाइमा पिण्डेश्वरमा सुरु भएको निःशुल्क खाना खुवाउने कार्यक्रम अहिलेसम्म चलिरहेको छ । पिण्डेश्वरमा मारवाडी सेवा समिति बाहेक अन्य सङ्घ–संस्थाले पनि निःशुल्क भोजन गराउने गर्दछन् तर अन्यको दिगो देखिँदैन । लायन्स क्लब अफ दन्तकाली तथा बुढासुब्बा, साथी समूह, पिण्डेश्वर टोल विकास संस्थालगायतले निःशुल्क रूपमा चिसो पानी खुवाउँदै आएका छन् । धरान मनिहारी तथा उपहार व्यापार सङ्घले तिर्थालु भक्तजनलाई खिर, चिया र बिस्कुट खुवाउँदै आएको छ । तीर्थमा दान गर्नु, यात्रीलाई भोजन गराउनु, पानी खुवाउनु भनेको सबैभन्दा ठूलो धर्म हो भन्ने विश्वास हिन्दू धर्मावलम्बीहरूमा छ । मारवाडी सेवा समितिले तिर्थालुलाई पुरी–तरकारी, चिउरा र हलुवा खुवाउँदै आएको छ । मारवाडी समाजमा धर्मप्रति आस्था राख्नेहरू धेरै रहेको अध्यक्ष अग्रवाल दाबी गर्छन् । उनले प्रत्येक वर्ष ३ देखि ४ लाखसम्म खर्च हुने गरेको बताए । सेवा भावले गरेको काम भएको हुनाले १५ वर्षदेखिको कार्यक्रम निरन्तर अहिलेसम्म जारी राख्न सकेको पनि उनले दाबी गरे ।