पाँचथर । फिदिम–२, अर्खौंलेका टेकनाथ रिमालको परिवारले गाई पालन र घाँस खेती गरेर मनग्गे आम्दानी गर्दै आएको छ । अढाई वर्ष अघि सुरु गरेको यो व्यवसायले रिमाल परिवारलाई वार्षिक करिब साढे सात लाख रुपैयाँ आम्दानी दिन थालेको हो । रिमाल परिवारको आर्थिक अवस्था कमजोर थियो । परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन टेकनाथ तीन वर्ष विदेश बसे । तर सोचे अनुसार कमाइ भएन । फर्केर झापामा बसी व्यापार गरे । त्यसबाट पनि खासै आर्थिक उपार्जन हुन सकेन । एक किसिमले निरास बनिसकेका थिए टेकनाथ । त्यही निरासाका बीच उनको मनमा घाँस खेती गर्ने नयाँ–नयाँ सोच पलायो । र थाले फिदिम–२, अर्खौंले स्थित आफ्नै २० रोपनी जग्गामा घाँस खेती । गाउँमा त्यसअघि कसैले नगरेको घाँस खेती सुरु गर्दा टेकनाथलाई गाउँलेले हाँसेर उडाए । तर उनी आफ्नो काममा दृढ भएर लागे । लगाएको घाँस मज्जाले सप्रियो । त्यहीबेला टेकनाथको मनमा अर्को सोच आयो, घाँस खेतीसँगै व्यवसायिक गाईपालन सुरु गर्ने । अनि रिमालले दर्ता गरे– ‘देउराली गाई फर्म’ अहिले रिमालको गाई फर्ममा स्थानीय र उन्नत जातका गरी आठ वटा दुहुना गाई छन् । ती गाईले प्रतिदिन ३५ देखि ४० लिटर ओलन दिने टेकनाथकी श्रीमती लक्ष्मी रिमाल बताउँछिन् । ओलन प्रतिलिटर ४० रुपैयाँले बिक्री गर्दा न्युनतम मासिक ४२ हजारदेखि ४८ हजारसम्म आम्दानी हुने लक्ष्मीको भनाइ छ । त्यस्तै घाँसको विरुवा बिक्री गरेर गत वर्ष अढाइ लाख आम्दानी गरेको उनले सुनाइन् । मागअनुसार आफूहरूले घाँसको विरुवा उत्पादन गर्दै आएको टेकनाथले बताए । पोषिलो घाँसको बिरुवा खरिद गरेर लाने कृषकको सङ्ख्या बढ्दै गएको उनले बताए । रिमाल परिवारको कृषि कर्मलाई प्रोत्साहित गर्न पशुसेवा कार्यालयले एक लाख बराबरको साइलोपिट बनाउने कार्यक्रम दिएको कार्यालयले जनाएको छ । त्यसबाट खेर जाने घाँसलाई अन्य समयमा गाईको आहाराको रूपमा राख्न र प्रयोग गर्न सकिन्छ । रिमाल परिवारको प्रगति देखेर पहिले हाँसेर उडाउने गाउँले अहिले प्रोत्साहन दिन आउने टेकनाथ बताउँछन् ।