धनकुटा । सेन्टर फर माइक्रोफाइनान्स (सिएमएफ) को आयोजनामा बुधबारदेखि पाँचदिने सहकारी सुशासन तथा वित्तीय सञ्चालन तालिम धनकुटामा शुरु भएको छ । ‘सहकारी संस्थाको सुशासन र वित्तीय व्यवस्थापनमा गुणात्मक सुधार, संस्थागत विकासको मूल आधार’ भन्ने मूल नाराका साथ शुरु भएको तालिममा सहकारी सुशासन, लेखा व्यवस्थापन, वित्तीय व्यवस्थापन, सञ्चालकको जिम्मेवारी, कोष व्यवस्थापन, वर्तमान सहकारी ऐन, सहकारीको व्यवस्थापनबारे जानकारी गराइने भएको छ । जिल्ला सहकारी सङ्घको समन्वय तथा उन्नति एक्सेस अफ फाइनान्स कार्यक्रम र नेपाल राष्ट्र बैङ्कको सहयोगमा सो तालिम सञ्चालन गरिएको हो । धनकुटा जिल्लाका विभिन्न सहकारी संस्थाका ३० जनाको सहभागिता रहेको तालिमको जिल्ला सहकारी सङ्घका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले उद्घाटन गरेका थिए । सिएमएफका वरिष्ठ तालिम अधिकृत रुद्र पराजुलीको अध्यक्षता र जिल्ला सहकारी सङ्घ धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठको प्रमुख आतिथ्यमा तालिम उद्घाटन भएको थियो । कार्यक्रममा जिल्ला सहकारी सङ्घ धनकुटाका अध्यक्ष श्रेष्ठ, पूर्वसभासद् अञ्जना ताम्ली, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजयसन्तोषी राई, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, बचत सहकारी सङ्घ धनकुटाका जिल्ला अध्यक्ष बोधा दाहाल, जिल्ला सहकारी सङ्घ धनकुटाका सदस्य रेणु श्रेष्ठ, जिल्ला सहकारी सङ्घ धनकुटाका केन्द्रीय प्रतिनिधि खगेन्द्र सुवेदी, रेडियो धनकुटाका सञ्चालक समिति अध्यक्ष सन्देश बिहानीले शुभकामना मन्तव्य राख्दै राज्यले तीनखम्बे अर्थ नीतिमा एउटा खम्बा सहकारीलाई लिएको हुनाले सहकारी मुलुकलाई समृद्ध बनाउन ठूलो सहयोग पु¥याउने बताएका थिए ।