इटहरी/नेपाल प्रहरीका तल्लो तहका कर्मचारीहरुले भकाभक जागिर छोड्न थालेका छन् ।
पेन्सन हटाउने सरकारको निर्णय र कतिपय प्रहरी हाकिमका कारण पनि नेपाल प्रहरीमा जागिर छोड्ने प्रहरीको संख्या बढेको हो । विभिन्न कारण देखाउँदै प्रहरीहरुले धमाधम राजीनामा दिन थालेपछि प्रदेश प्रहरी कार्यालय विराटनगरमा हल्लीखल्ली मच्चिएको छ । तल्लो तहका प्रहरीलाई गर्ने रुखो व्यवहारले पनि जागिर छोड्न थालेको प्रहरीहरु बताउँछन् । कुटपिट गर्ने, सजाय दिने र विभागीय कारबाही गर्ने प्रवृत्तिले गर्दा अझ बढीले जागिर छोड्न थालेको भर्खरै जागिरबाट राजीनामा दिएका एक प्रहरीले फोन सम्पर्कमा भने । ‘हाकिमको मुडअनुसार काम गर्ने सकिँदैन, केही हाकिमले साह्रै दुःख दिन्छन्’ –उनले भने । गत साउन १२ गते शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरी अधिकृतले इटहरी चौकमा डिउटीमा रहेका हवल्दार हरिबहादुर बस्नेतलाई झापड हाने । प्रहरी पोसाकमा ‘नेम प्लेट’ छड्के किन लगाएको भन्दै बीच सडकमा झापड हानेपछि बस्नेतले प्रहरी हवल्दारबाट राजीनामा दिए । कतिपय घटनामा गल्ती नगर्दा पनि ग्रेड रोक्का, नसिहत र कारबाही वा निष्काशित गर्ने प्रवृत्तिले पनि जागिर छोड्ने क्रम बढेको एक प्रहरी अधिकारीले बताए ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी आभूषण तिम्सिनाले गत फागुनयता मात्र १ सय ९८ जनाले जागिर छाडेको बताए । फागुन महिनायता जागिर छोड्ने क्रम बढेको उनी बताउँछन् । सेवा सुविधा तथा विभिन्न बहानामा जागिर छोड्ने क्रम बढ्दै गएको उनको भनाइ छ । पेन्सन पाइँदैन भन्ने हल्लाले जागिर छोड्नेको संख्या बढेको भन्दै एसपी तिम्सिनाले भने जागिर छोड्न थालेपछि अहिले प्रहरी कार्यालयहरुमा प्रहरीहरुलाई सम्झाउन थालिएको बताए । तल्लो स्तरका कर्मचारीहरुलाई कामको लोड भएको कारण पेन्सन पाएपछि जागिर छोडेका हुनसक्ने सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए । ‘किरिया बिदाबाहेक प्रहरीलाई बिदा छोड्न सक्ने अवस्था छैन’ उनी भन्छन्, ‘जनसंख्याको चापअनुसार प्रहरीको संख्या थोरै हुँदै गएपछि उनीहरुले मागेको बिदा नपाउने, घर जान नपाउने कारणले पनि राजीनामा दिएको हुनसक्छ ।’ प्रहरी सङ्गठनभित्र जागिर छाड्नेको संख्या दिनानु दिन बढ्दो अवस्थामा छ । यसले सङ्गठनको बदनामी हुने डर पनि बढाएको छ । प्रदेश एकमा ३ सय बढीले अहिलेसम्म राजीनामा दिइसकेका छन् ।
राजीनामा स्वीकृत नगर्ने हेडक्वार्टरको निर्देशन देशभर प्रहरीका तल्लो तहका प्रहरीले जागिरबाट राजीनामा दिने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) ले तत्काल राजीनामा स्वीकृत नगर्ने ७ वटै प्रदेश प्रहरी कार्यालयमार्फत् सबै मातहतका प्रहरी कार्यालयमा परिपत्र गरेको छ । २० गते हेडक्वार्टरबाट गरिएको परिपत्रमा कुनै पनि बहानामा जागिर छाड्नेको राजीनामा स्वीकृत नगर्ने साउन २१ गते परिपत्र गरिएको हो । एक नम्बर प्रदेश प्रहरीबाट जागिर छाड्नेको संख्या बढ्दो छ । प्रहरीको जागिर अवधि, सेवा सुविधा र पेन्सनको विषयमा पनि अन्यौलता बढेको बेला हेडक्वार्टरले सबै विषय समाधान नहुञ्जेलसम्म जागिर छाड्न नपाइने परिपत्र गरेको बताइएको छ । प्रहरीको नयाँ नियम भदौबाट आउने भएपछि पाउँदै आएको सेवा सुविधा कटौती हुने हल्लाको पछि लाग्नेहरुले पनि जागिर छाड्ने गरेको पाइएको छ ।