इटहरी/सडकको दुर्दशा हेर्न पूर्वको व्यापारिक शहर इटहरी पुगे काफी छ । इटहरीमा निर्मित अधिकांश सडक खाल्डाखुल्डी छन् ।
मर्मतमा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन । मर्मत अभावमा मुख्य सडकसँग जोडिएका सहायक सडक तथा भित्री सडक जीर्ण बन्दै गइरहेका छन् । चोकैपिच्छे बाटो जीर्ण बने पनि उपमहानगरले निर्माणमा चासो देखाएको छैन । बाटोको स्तरोन्नति हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्दै आइरहेका छन् । सवारी दुर्घटना हुने सम्भावना बढेको स्थानीय बताउँछन् । इटहरी बजार तथा अस्पताल जाने सडकको अवस्था नाजुक छ । सडक निर्माणमा उपमहानगरले ध्यान नदिँदा सर्वसाधरणले दुःख पाइरहेको स्थानीय रामु पोखरेल बताउँछन् । इटहरीका अधिकांश सडक बेहाल भए पनि मर्मतमा ध्यान नदिएको उनको भनाइ छ । दैनिक सयौँ सवारी साधन उक्त सडक भएर गुड्ने गरेका छन् । इटहरीको बसपार्क छिर्ने मोडको एकतर्फी बाटो आसपासका अधिकांश सडक नबन्दा समस्या भएको व्यापारीको गुनासो छ । इटहरीका व्यवसायी बालकृष्ण लुइँटेलले धुलो र हिलोको समस्याले दुःख पाउने गरेको बताए । उनले उपमहानगरको हेलचेक्राइँका कारण समस्यामा भएको बताए ।
कालोपत्रे सडकहरूको अवस्था पनि उस्तै छ । कालोपत्रे गरिएका सडक ग्राभेलभन्दा पनि स्तरहीन बनेको इटहरी प्राथमिक स्वास्थ्य चौकीलाइनका दशरथ ढकालले बताए । ‘इटहरी सडकको अवस्था लाजमर्दो भयो नियमनकारी निकायको ध्यान जाओस् ।’ उनले भने । खाल्डाखुल्डीले समस्या भएको अस्पताल टोल विकास समितिका अध्यक्ष विजय केसीले बताए । प्राथमिक स्वास्थ्य संस्थामा बिरामी लिएर आउनेदेखि यात्रा गर्ने यात्रुहरूले दैनिक सास्ती बेहोर्नु परेको उनको भनाइ थियो । ‘यो वर्ष २० लाख बजेट परेको छ तर त्यो रकम अपुग हुन्छ ।’ उनी भन्छन्, ‘उपमहानगरले गत दशैँमा बनाएको बाटो २ महिनामै भत्किएर ठूला–ठूला खाल्डा परेका छन् ।’ यता इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले वर्षा लागेका कारण बाटो निर्माण हुन नसकेको बताइन् । बाटोहरू खाल्डाखुल्डी भएको स्वीकार गर्दै उनले मर्मतलाई निरन्तरता दिने बताइन् । अस्पताल लाइनमा यो वर्षको लागि बजेट परिसकेको उनले बताइन् ।