पानवारी । युनाइटेड नेपाल ट्रान्सपोर्ट भलाई एण्ड इन्भेष्टमेन्ट प्रालिले सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । धरानस्थित सिद्धि नेवा परिषदको सभाहलमा शुक्रबार प्रालिले धरानका यातायात व्यवसायी तथा सञ्चारकर्मीहरुसँग एकदिने सवारी सञ्चालन तथा दुर्घटना व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रालिले व्यवस्थित सवारी सञ्चालन सम्बन्धमा गृहमन्त्री रामबहादुर थापालाई प्रालिले बुझाएको अवधारणा पत्रमाथि देशव्यापी रुपमा अन्तरक्रिया गर्दै आएको छ ।
अन्तरक्रिया कार्यक्रममा प्रालिले पुर्याउने सेवाका बारेमा समेत जानकारी दिइएको थियो । कार्यक्रममा भलाई कोषबाट दुर्घटनालाई व्यवस्थापन गर्न र नियम अनुसार मृतक परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको उचित उपचार गर्ने, तथा व्यवसायीले बहन गर्नुपर्ने असिमित दायित्वलाई समेत प्रालिले जिम्मेवारी लिने गरी क्षतिको बहन गर्ने बताइएको छ । प्रालिका सूचना विभाग प्रमुख केबलराम राईले बताए । यस अघि जनकपुर, कञ्चनपुर, बर्दिबास, फिदिम र पोखरामा सरोकारवालासँग अन्तरक्रिया गरिसकेको पनि राईले बताए । उनले देशका प्रमुख सहरहरुमा सवारी दुर्घटना न्युनिकरण तथा व्यवस्थापन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिने बताए । अव्यवस्थित ढंगले सवारी सञ्चालन हुँदा राष्ट्रलाई नै क्षति हुने भएकोले देशकै यातायात क्षेत्र व्यवस्थित हुनुपर्ने प्रालिको जोड थियो ।