धनकुटा । द सेभेन युथक्लब धनकुटाले धनकुटा बस पार्कमा लागुपदार्थ दुव्र्यसनी बिरुद्ध सनिबार होडिङबोर्ड राखेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई जिल्ला युवा समितिले संयोजन तथा धनकुटा नगरपालिका ७ नं. वडा कार्यालयले सहयोग गरेका छन । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीले लागुपदार्थ दुव्र्यसनीले युवाहरु बिग्रदैँ गएकाले यसलाई रोक्न सबै लाग्नु पर्ने बताए । उनले द सेभेन युथक्लब धनकुटाले युवा दिवसको अवसरमा राम्रो कामको सुरुवात गरेको बताउँदै यस्ता कार्यक्रम सबैले आ–आफ्नो क्षेत्रबाट हुनुपर्ने बताए । कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ आठपहरिया, उद्योग वाणिज्य संघकी उपाध्यक्ष तारा तितुङ, धनकुटा नगरपालिका वडा नं.७ का वडाध्यक्ष जंगबहादुर आठपहरियाले अहिलेका युवा लागुपदार्थ दुव्र्यसनीमा सजिलै फस्ने गरेकाले यसको लागि सबै अभिभावक सचेत हुनुपर्ने बताएका थिए । बोर्डमा लागुपदार्थ के हो ? कुनकुन तरिकामा कति सजाय छ ? बच्ने उपाय के हो ? भन्ने विषयहरु समेटिएको छ ।