विराटनगर । नक्कली औषधि बिक्री वितरण गरेको अभियोगमा थप दुई फार्मेसी सञ्चालक पक्राउ परेका छन् ।
विराटनगर हस्पिटल चौकमा सञ्चालित गोल्डेन फार्मेसीका सञ्चालक पाण्डव राजवंशी र जिग्री फार्मेसीका सञ्चालक नौसाद अन्सारी पक्राउ परेका हुन् । उनीहरूलाई औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगर पक्राउ गरेको हो । नक्कली औषधि प्रकरणको छानविन गरिरहेको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालयले नक्कली औषधि बिक्री वितरण गर्ने मुख्य नाइकेसहित दुईजना सञ्चालक यसअघि नै पक्राउ गरेको थियो । भारतबाट अवैध रूपमा नेपालमा औषधि ल्याएर बिक्री वितरण गर्ने गिरोहमध्येका धरान–४ का जीवन अग्रवाललाई पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि शुक्रबार फार्मेसीका सञ्चालक अन्सारी र राजवंशीलाई नियन्त्रणमा लिन सफल भएको हो ।
औषधि व्यवस्था विभागले जिग्री फामेर्सीबाट विभिन्न कम्पनीका नक्कली औषधि छापा मारेर बरामदसमेत गरेको छ । उक्त फार्मेसीमा नक्कली औषधि अग्रवालले दिने गरेको अनुसन्धानबाट खुलेको एक अनुसन्धान अधिकृतले नाम नछाप्ने सर्तमा बताए । बिरामी हुँदा मानव स्वास्थ्यलाई आवश्यक पर्ने औषधि नक्कली दिने गिरोहका नाइके अग्रवाललाई मोरङ प्रहरीले पक्राउ गरेपछि विराटनगरको फार्मेसीहरूमा छापा मारेको थियो । प्रहरीले विराटनगरको पाँचवटा फार्मेसीमा साउन १३ गते छापा मार्दा ठूलो परिमाणको नक्कली औषधिसहित दुईवटा फार्मेसीको सञ्चालकलाई पक्राउ परेका थिए ।
यसअघि प्रहरीले विराटनगरको महेन्द्र चौकमा रहेको म्याक्स हस्पिटलभित्र रहेको लङ लाइफ फार्मेसीका सञ्चालक विराटनगर–१० का दीपककुमार राय र विराट अस्पतालभित्र रहेको मेड प्लस फार्मेसीका सञ्चालक सप्तरी महुली–५ का ३० वर्षीय प्रशान्तकुमार चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई औषधि ऐन २०३५ अन्तर्गत मुद्दा चलाउने औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरकी निमित्त प्रमुख आशा थापाले जानकारी दिइन् । उनका अनुसार शुक्रबार पक्राउ परेका दुईजना सञ्चालकहरुमाथि पनि आइतबारदेखि अनुसन्धान शुरु गर्ने बताइन् ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेको छ । नक्कली औषधि प्रकरणमा पक्राउ परेका आरोपीहरुलाई छुटाउन केही औषधि व्यवसायीदेखि मधेशी राजनैतिक दलका उच्च तहका नेताहरु नै सक्रिय रूपमा लागिपरेको स्रोतको दाबी छ । अहिले औषधि व्यवस्था विभागमा व्यवसायीदेखि माथिल्लो तहका नेताहरुले छुटाउन दबाव दिने गरेको बताइएको छ । उनीहरुले अनुसन्धानलाई नै प्रभावित पार्ने गरी दबाव दिने गरेको स्रोतको भनाइ छ ।
यता नेपाल औषधि व्यवसायी सङ्घ कोशी विराटनगरले बिना कारण औषधि व्यवसायीहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । यस विरुद्धमा औषधि व्यवसायीहरुले आइतबार ज्ञापन–पत्र बुझाउने तयारी गरेको बुझिएको छ । नेपाल औषधि व्यवसायी सङ्घ कोशी विराटनगरको अध्यक्ष कुमार खतिवडाले औषधि व्यवस्थापन विभागले बिना कारण पक्राउ गरेर दुःख दिने काम गरिएको बताए । ‘शुक्रबार पक्राउ परेकालाई के कारणले पक्राउ गरेको हो, अहिलेसम्म हामीलाई जानकारी दिएको छैन’ अध्यक्ष खतिवडाले भने, ‘अहिलेसम्म स्पष्ट रूपमा के कारण पक्राउ परेका हुन्, हामीलाई बुझ्न नै पाएका छैनौं ।’ यसरी बिना कारण पक्राउ परेर औषधि व्यवसायीहरुलाई त्रसित पार्ने काम गरिएको उनले बताए ।